सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतरामा एकजना सुनचाँदीसहित पक्राउ परेका छन् ।
स्थानीय लक्ष्मण विकको औलिया ज्वलर्समा सुनचाँदी चोरी गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय अनिल बराइली रहेका छन् । राति एकतले पक्की घरमा रहेको औलिया ज्वलर्समा घर पछाडि काठको ढोकाको कब्जा फुटाई लकर बाहिर राखिएको सुनचाँदी चोरेर उनी भागेका थिए ।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय चतरा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
घटनाको सुक्ष्म अनुसन्धान थालेको प्रहरी चोरी भएको २४ घण्टा नबित्दै चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । अनुसन्धान गर्ने क्रममा शंकास्पद रहेका अनिल बराइलीको घर कोठाभित्र खानतलासी लिँदा दराज पछाडि कालो झोलामा लुकाइछिपाइ राखिएको चोरीको सुनका गरगहनाहरु ६ तोला ८३ लाल र चाँदीको गरगहनाहरु २९७ तोलाको अन्दाजी १० लाख ४० हजार ५९० बराबरको गरगहना बरामद भएको प्रहरीले जनाएको छ । चोरिएका सुनको गरगहनाहरु बरामद भएसँगै अनिललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।