धरानः धरानमा बुधबारदेखि बजार अनुगमन शुरु गरिएको छ ।
इलाका प्रशासन कार्यालय धरानको अगुवाइमा धरान उपमहानगरपालिकाका राजश्व शाखा, कृषि शाखा, इलाका प्रहरी र नगर प्रहरीसहितको टोलीले संयुक्तरुपमा वडा नं. ३ स्थित माछाभौडी क्षेत्रमा अनुगमन गरेको हो ।
उनीहरुले माछाभौडी बजार क्षेत्रमा रहेका भेटनरी, किराना पसल, सुन पसल, माछा, मासु पसलको अनुगमन गरेका थिए । इलाका प्रशासन कार्यालयका प्रमुख चुडाराज भट्टराईले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिनाइजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ शुरु गरिएको बताए ।
उनले धरान उपमहानगरपालिका र आन्तरिक राजश्व कार्यालयमार्फत् यो बुधबारदेखि सन्देशमुलक अनुगमन शुरु गरिएको जानकारी दिए । उनले किराना पसलमा म्याद गुज्रेको अखाद्य वस्तु, मासु पसलमा कुहिएको मासु बिक्री गर्न राखिएको भेटिएको बताए । म्याद गुज्रेको अखाद्य वस्तु र कुहिएको फाल्न लगाइएको उनले बताए ।
मासु अर्को पटक पनि अनुगमनको क्रममा म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु उपभोक्तालाई बिक्री वितरण गरेको पाइएमा प्रचलित कानुनअनुसार जरिवानासहित कारबाही गरिने उनले बताए ।
अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तुलाई एक्स्पायर जोन बनाएर राख्न, व्यवसाय दर्ता तथा मूल्यसूची उपभोक्ताले देखिने स्थानमा अनिवार्य टाँस गर्न निर्देशन दिइएको भट्टराईले बताए ।





