Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भेडेटारमा वर्षौपछि लिफ्टबाट पानी तानेर प्यास मेट्दै

हाम्रो कोशी आवाज
साउन २७ २०७९, शुक्रबार
भेडेटारमा वर्षौपछि लिफ्टबाट पानी तानेर प्यास मेट्दै

धरानः प्रदेश १ को चर्चित पर्यटकीयस्थल भेडेटारमा वर्षौपछि खानेपानी आयोजना सफल भएको छ । त्यहाँ लिफ्टबाट पानी तानिएको हो ।
पम्पीय प्रणाली (लिफ्ट) को प्रयोगबाट नमस्ते झरनाको शिर सिरिसे खोला र सौरे खोलाको पानी डेढ किलोमिटर माथि भेडेटारमा तानिएको हो । यो नयाँ लिफ्टिङ हो ।
प्रदेश सरकार तथा स्थानीयवासीको लागत सहभागितामा ३ करोड ६७ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो । खानेपानी आयोजनाको प्रदेश १ सरकारका खानेपानी तथा ऊर्जा मन्त्री रामकुमार राई उद्घाटन गरेका थिए । पानी तानिएसँगै भेडेटारका १ सय ४७ घरधुरीले लाभान्वित हुने जनाइएको छ ।
यसअघि भेडेटारका व्यवसायीले लिटरको दुई रुपैयाँका दरले टयाङ्करको पानी किनेर चलाउनुपर्ने बाध्यता मात्रै थिएन बोतलको पानी किन्नुपर्ने बाध्यता थियो । अझ भन्ने हो भने कतिपय व्यवसायीले खानेपानी अभावले होटल नै बन्द हुने स्थिति पुगेका थिए ।
२०६९ सालमा लिफ्टबाट खानेपानी योजना बनाइएको १० वर्षपछि यो योजना सम्पन्न भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । उनका अनुसार यसअघि दैनिक २ देखि ३ हजार लिटर ट्याङ्रको पानी किनेर चलाउनुपर्ने बाध्यता थियो ।
भेडेटारमा ठूला र मझौंला गरी झण्डै १ सय २० भन्दा धेरै होटल छन् । ‘म आफूले पनि पीडा भोगेकै थिएँ, पर्यटक आगमनको मुख्य सिजनमै पानी अभाव हुँदा ट्याङ्करका ट्याङ्कर पानी किन्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘अब त्यो समस्या रहेन, अब भेडेटारबासीले प्रशस्त पानी पिउन पाउँछन् ।
पानी तानिएसँगै एक एक लाख लिटरका तीन वटा ट्याङ्कीमा जम्मा गरी अन्य ५० हजार लिटरका २ र १२ हजार लिटरका ३ वटा ट्याङ्कीमार्फत् वितरण गर्ने गरिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाका प्रमुख राजकुमार मण्डलले जानकारी दिए ।

 

प्रकाशित मिति: साउन २७ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend