Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अप्ठयारो भीरमा मेयर साम्पाङ र उपमेयर बेघा

हाम्रो कोशी आवाज
साउन २८ २०७९, शनिबार
अप्ठयारो भीरमा मेयर साम्पाङ र उपमेयर बेघा

धरानः धरानका मेयर हर्कराज राई (साम्पाङ) धरानेलाई जसरी पनि पानी खुवाउने भन्दै खोलाखोल्सी चहारिरहेका छन् ।
कोशीको पानी ल्याएर खुवाउने मुख्य एजेन्डाले चुनाव जितेका उनले केही वर्षका लागि धरानमा रहेका पुराना संरचना मर्मत गर्दै नयाँ स्रोत भेटिए त्यहाँबाट पनि पानी ल्याउन कम्मर कसेर लागेका छन् । उनको अभियानमा साथ दिन हालसम्म हजारौंले श्रमदान पनि गरिसकेका छन् ।
पकुवाबाट एक पाइप पानी ल्याएर देखाइसकेका उनले अहिले सर्दु, खर्दु र निशाने खोलालाई ‘तार्गेट’ मा राखेर पानी जम्मा गर्ने अभियानमा छन् । त्यहाँको निर्माण कार्यमा जनताले नै साथ दिँदै आएका छन् । त्यहाँको इन्टेक निर्माणमा होस् वा करिब दुई लाख लिटरको टयाङ्की निर्माणका लागि गिटी कुट्न, बालुवा बोक्नलगायतको श्रमदान गर्न जनता आतुर देखिएका छन् ।
त्योसँगै मेयर साम्पाङ आफै श्रमदान गर्न खटिने गरेका छन् । कहिले कार्यालयको काम सकेर होस् वा विदाको जुनसुकै दिनमा पनि उनी श्रमदान गर्न पुगिहाल्छन् ।
शनिबार मेयर साम्पाङ आफैं पाइप तान्न अप्ठ्यारो भीरमा चढेका थिए भने उनलाई साथ दिन उपमेयर अइन्द्रविक्रम बेघा, सयौं सर्वसाधारण पुगेका थिए । सर्वसाधारणले पाइपमात्रै तानेनन् गिटी कुटे अनि ढुङ्गा पनि बोके । केही सर्वसाधारण रमित हेर्न समेत पुगेका थिए । शनिबार तानिएको पाइपबाट खर्दुको पानी अप्ठयारो भीर हुँदै दुई लाख लिटरको टयाङ्की निर्माणस्थलसम्म लगिनेछ ।
असारको पहिलो साताबाट प्रत्येक शनिबार खोलाखोल्सीमै रहने र धराने जनतालाई खानी खुवाउने भन्दै जनता उतार्दै आफूसमेत खटिइरहेका छन् । उनको कामलाई स्थानीय युवापुस्तादेखि वृद्धवृद्धासमेतले स्वतस्फुर्त पुगेर साथ दिँदै आएका छन् ।
सर्दु, खर्दु र निशानेलगायत जलाधार क्षेत्रको संरक्षण गर्दै उनी त्यहाँको पानी जम्मा गरेर धरानबासीलाई हिउँदको समयमा खुवाउने योजनामा छन् । हालसम्म सर्दु, निशानेमा सानो टयाङ्की निर्माण भइसकेको छ भने यी दुवै स्थानबाट करिब दुई लाख लिटरको टयाङ्की निर्माणस्थलसम्म पाइपबाट पानी समेत तानेर लगिसकिएको छ । शनिबार अप्ठयारो भीरबाट तानिएको पानीचाहिँ टयाङ्की निर्माणस्थलसम्म पुग्न बाँकी छ । यसको लागि सर्वसाधारण समेत श्रमदानका लागि दौडिरहेकै छन् । यसको साथै टयाङ्की निर्माणका लागि शनिबार सर्वसाधारणले गिटी कुटे, बालुवा बोके, ढुङ्गा बोके ।
‘यो टयाङ्कीमा जम्मा गरेको पानीचाहिँ हिउँदमा खुवाउने हो’, उनले भने, ‘यहाँ करिब दुई लाख लिटरको ट्याङ्की गोर्खा पिस फाउण्डेशन नामक संस्थाले बनाइदिने हो, यसले नपुगे बानियाँटारमा ठूलो जलकुण्ड निर्माण गर्नेछौं, त्यसको लागि कार्यपालिकाबाट निर्णयसमेत भइसकेको छ, त्यसपछि क्रमैसँगै कोशीको पानी धरानमा ल्याउने हो ।’
कोशीको पानी ल्याउन सम्भाव्यता अध्ययनमा जुटिरहेको उनको भनाइ छ । उनले आइतबार नै आफू, उपमेयर, वडाध्यक्षसहितको टोली काठमाडौं जान लागेको समेत जानकारी दिए । यसको लागि प्रदेश र केन्द्रले असहयोग गर्नेमा उनी विश्वस्त छन् । ‘केन्द्रले सहयोग नगरे सिंहदरबारमै पनि धर्ना दिन सक्छु नि’, उनी भन्छन्, ‘तर आशावादी छु, धरानबासीलाई काकाकुलबाट मुक्त गराउन अवश्य सहयोग हुन्छ ।’ काठमाडौं पुगेर खानेपानी मन्त्रीलगायतसँग भेटको कार्यक्रम रहेको समेत जनाइएको छ ।
हजारौं विरुवा रोपियो
धरानको सर्दुखोला छेऊमा हजारौं थरीथरीका विरुवा रोपिएको छ ।
फलफूल (कागती, काँक्रा, निबुवा, अमला, अम्बक, मखमली, सयपत्री, रुद्राक्ष), लगायत अन्य जातका विरुवा रोपिएको हो । विरुवा रोप्नका लागि धरानका विभिन्न संघसंस्थाका प्रतिनिधि, धरानबासी साथै झापाको बिर्तामोड, मोरङको बेलबारी साथै भोजपुर, तेह्रथुमलगायतका स्थानबाट समेत सर्वसाधारण आइपुगेका थिए । प्रत्येक शनिबार मेयर साम्पाङको आहवानमा विभिन्न ठाउँमा वृक्षारोपण भइरहेको छ ।
कार्यक्रममा उपस्थित मेयर साम्पाङले धराने जनताले पानीकै लागि वृक्षारोपण गरिरहेको बताए । ‘हामी अहिले जति पनि विरुवा रोपिरहेका छौं, पानीको स्रोत र मुहान नसुकोस् भनेर नै हो’, उनले भने ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: साउन २८ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend