Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठान टाट पल्टिने स्थितिमा पुगेकै हो ?

हाम्रो कोशी आवाज
भाद्र १ २०७९, बुधबार
धरानको बीपी प्रतिष्ठान टाट पल्टिने स्थितिमा पुगेकै हो ?

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले श्वेतपत्र जारी गर्दै १ अर्ब ४१ करोडको घाटा सार्वजनिक गरेको छ । प्रतिष्ठानका नवनियुक्त रजिष्ट्रार डा.सूर्यप्रसाद सङ्ग्रौलाले श्वेतपत्र जारी गर्दै प्रतिष्ठानको आर्थिक अवस्था नाजुक रहेको जनाएका छन् ।
प्रतिष्ठानको पछिल्लो ४ आर्थिक वर्षको आयव्यय पनि सार्वजनिक गर्दै बीपी प्रतिष्ठानको खस्किँदै गएको आर्थिक अवस्थालाई स्पष्ट पार्न श्वेतपत्र सार्वजनिक गरेको जनाएको छ । श्वेतपत्र अनुसार आर्थिक अवस्थाकै कारण अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेको सुविधासमेत स्थगित गरेको छ ।
सेवा सुविधा वृद्धि नभएकाले प्रतिष्ठानका विशेषज्ञ र अनुभवी चिकित्सक एवं प्राध्यापकहरू पलायन हुने अवस्था सिर्जना भएको पनि रजिष्ट्रार संग्रौलाले उल्लेख गरेका छन् । प्रतिष्ठानका अनुसार विगत दुई वर्षदेखि आम्दानी १ अर्बभन्दा बढीले घटेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा कोभिड नभएको कारण प्रतिष्ठान ५८ करोड ६६ लाख नाफामा थियो । तर कोभिड महामारीपछि भने प्रतिष्ठान घाटामा चल्न सुरु भयो । कोभिड महामारी सुरु भएपछिको आर्थिक वर्ष २०७६/०७७ मा प्रतिष्ठानको आम्दानीमा सोझै असर परेको श्वेतपत्रले देखाएको छ ।
उक्त आर्थिक वर्षमा मात्र प्रतिष्ठान २९ करोड ४३ लाख घाटामा गएको थियो । आन्तरिक आय र नेपाल सरकारबाट समेत गरी २ अर्ब १९ करोड ८५ लाख प्राप्त गरेको प्रतिष्ठानले उक्त वर्ष २ अर्ब ४९ करोड २८ लाख रुपैयाँ खर्च गरेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा प्रतिष्ठान झन् घाटामा फस्दै गएको रजिस्ट्रारले जनाएका छन् । ०७७/७८ सम्ममा प्रतिष्ठान ९१ करोड ४३ लाख घाटामा पुगेको थियो । कोभिड महामारीकै कारण उक्त वर्ष आम्दानी १ अर्ब ९१ करोड ६ लाखमा खुम्चिएको थियो भने सञ्चालन खर्च २ अर्ब ८२ करोड ४९ लाख पुगेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा पनि प्रतिष्ठानको आर्थिक अवस्था ४१ करोड ऋणात्मक रहेको थियो । यो वर्ष कुल आम्दानी २ अर्ब ७१ करोड ४४ लाख पुगे पनि सञ्चालन खर्च वृद्धि भएर ३ अर्ब १२ करोड ४४ लाख पुगेको छ । प्रतिष्ठान स्वायत्त निकाय भएकोले तलब, भत्तासहित सञ्चालन खर्च आफैँले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
सरकारले विगतको अनुपातमा प्रतिष्ठानलाई सहयोग गर्न कम गर्नु नै प्रतिष्ठान धराशायी बन्नुको कारण देखाइएको छ । सरकारले दिने बजेट क्रमशः घट्दै जानु, सेवा विस्तारसँगै जनशक्ति थप गर्नुपर्ने र समय अनुकुल शिक्षक, कर्मचारीहरूको तलब तथा सुविधा वृद्धि गर्नुपर्दा प्रतिष्ठानको व्ययभार बढ्दै गएको उल्लेख छ ।
शैक्षिक सत्र २०१९ देखि चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेर शैक्षिक कार्यक्रमको सिट सङ्ख्या तथा शुल्क घटाए सँगै विदेशी विद्यार्थीको कोटासमेत न्यून तोकेपछि प्रतिष्ठानको आम्दानी घटेको प्रतिष्ठानले जनाएको छ ।
केही दिनअगाडि मात्र नियुक्त भएका रजिष्ट्रार सङ्ग्रौलाले प्रतिष्ठानको वर्तमान अवस्था जटिल र चुनौतीपूर्ण बन्दै गइरहेकोले माथि उठ्न केही समय लाग्ने जनाएका छन् । शिक्षक कर्मचारीहरूले इमान्दारितापुर्वक पारदर्शिताका साथ काम गर्न आवश्यक भएको रजिष्ट्रार संग्रौलाले औँल्याएका छन् ।

प्रकाशित मिति: भाद्र १ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend