Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जहाँ विद्यार्थीलाई ६० रुपैयाँमा भरपेट खाना

हाम्रो कोशी आवाज
भाद्र १ २०७९, बुधबार
धरानमा जहाँ विद्यार्थीलाई ६० रुपैयाँमा भरपेट खाना

धरानः धरानमा विद्यार्थीले ६० रुपैयाँमा भरपेट खाना खान पाउने भएका छन् ।
सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने धारणालाई चिर्दै अघि बढेको धरानको नमूना पब्लिक हाइस्कुलले यस्तो व्यवस्था गर्न लागेको प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए । उनका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीको सेवा सुविधामा ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिए ।
आगामी भदौ ६ गते विद्यालयका विद्यार्थीका लागि यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिए । उनले विद्यार्थी साथै शिक्षक, कर्मचारीलाई समेत नै यस्तो सुविधा दिन लागिएको जानकारी दिए । ‘हामीले भदौ ६ गतेदेखि यस्तो व्यवस्था गर्न लागेका हौं ।’ उनले भने ।

बिहान ६ बजे नै विद्यार्थी विद्यालय आइपुग्ने तर कतिपय विद्यार्थी १ बजेसम्म पढिरहेको र उनीहरुलाई खानामा समस्या हुने देखेर यस्तो व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । ‘विद्यार्थी बिहान ६ बजेदेखि पढ्न आउँछन्, मानौं विज्ञान विषय पढ्ने विद्यार्थी ६ बजे आउँछन्, ६ बजेदेखि १ बजेसम्म बस्दा त उनीहरु भोकाइसकेका हुन्छन्, त्यही भएर विद्यालयभित्रै ६० रुपैयाँमा भरपेट खाना खुवाउन लागिएको हो ।’
उनले उनीहरुका लागि ६० रुपैयाँमै खाना, तरकारी र अचार व्यवस्था गरिएको जानकारी दिए । कक्षा–६ सम्मका विद्यार्थीलाई सरकारले खाजा खुवाउँदै आएको र अन्य कक्षाका विद्यार्थीका लागि यो सुविधा दिइएको उनले जानकारी दिए । ‘७ देखि १२ कक्षाका विद्यार्थीले ‘म खाना यही खान्छु’ भन्ने रुचि देखाए भने ६० रुपैयाँमा अघाउन्जेल खाना खुवाउँछौं ।’
विद्यार्थीमा जङकफुड समस्या बढ्दै गएको र यो कुरालाई मध्यनजर गरेर खाना खुवाउने कार्यक्रम ल्याइएको उनले जानकारी दिए । ‘बालबालिकाहरुले चाउचाउलगायत अन्य जङफुड खाइदिँदा स्वास्थ्यमा समस्या थपिँदो छ, इनडाइजेक्सनको प्रोब्लम आइरहेको छ’, उनी थप्छन्, ‘खाना भनेको खाना हो, खानाको समयमा खाजाले त्यसलाई पूरा गर्दैन ।’
नयाँ बनेको भवनमा किचनको तयारी भइसकेको उनले जानकारी दिए । ‘किचन पनि भनेजस्तै सफाचट बनाउनेछौं’, उनले थपे, ‘अझ भन्ने हो भने किचन देख्नेवित्तिकै खाना रुच्ने खालको नै बनाउँछौं ।’
नमूना विज्ञान प्रयोगशालाको तयारी
पब्लिकमा यसअघि नै सञ्चालनमा आएको विज्ञान प्रयोगशालालाई अझै व्यवस्थित गर्दै भव्य र नमूना बनाउने तयारी समेत थालेको उनले जानकारी दिए । पहिलादेखि प्रयोगशाला छँदै थियो तर अझै व्यवस्थित गर्न सामग्रीहरु पनि थप गरिने इन्चार्ज वीरेन्द्रबहादुर शाहले जानकारी दिए ।
‘पब्लिकमा त साइन्स ल्याब छँदैछैन भन्ने पनि सुनियो तर २०६० सालदेखि नै यहाँ साइन्स ल्याब थियो’, उनले भने, ‘तर यसलाई व्यवस्थित गर्दै नमूना बनाउने हाम्रो तयारी हो ।’ फिजिक्स, बायोलोडी, केमेष्टीको फरक फरक प्रयोगशाला बनाउने कन्सेप्टले आफूहरु अघि बढेको उनले बताए । प्रयोगशाला निर्माणपछि विद्यार्थीले एकैठाउँ यो सुविधा लिन सक्ने उनको भनाइ छ ।
पब्लिकले तयारी कक्षा नै चलाउन थाल्यो
साइन्स कोअर्डिनेटर किशोर चौधरीले विज्ञान, इन्जिनियरिङलगायत अन्यको पनि तयारी कक्षा विद्यालयले नै गराउँदै आएको जानकारी दिए । ‘विद्यालयले नै यस्तो काम थालेपछि विद्यार्थी उत्साहित भएका छन्’, उनले भने ।

विद्यार्थीको चाप लगातार नै बढ्दो
कक्षा–९ सम्म अंग्रेजी माध्यममा अध्ययन अध्यापन थालेपछि विद्यार्थीको चाप थेगिनसक्नु हुँदै गएको उनले जानकारी दिए । कक्षा–११ मा यस वर्ष पनि धेरै विद्यार्थी भर्ना भइसकेको र हुने तयारीमा रहेको जानकारी दिए । ‘अहिलेसम्म हाम्रोमा यसअघि जतिकोठामा पढाउँदै आएका थियौं, त्यो कोठाहरु भरिइसकेको अवस्था छ, अझै नयाँ भवनमा चारवटा कोठा निकाल्दैछौं, त्यहाँ पनि विद्यार्थी भर्ना लिन्छौं ।’
पहिला सामुदायिक विद्यालय भनेपछि कमजोर विद्यार्थी मात्रै पढ्ने, गरिबका छोराछोरी मात्रै पढ्ने सोच्ने धारणा रहेको बताउँदै प्रधानाध्यापक झाले अहिले त्यो धारणा परिवर्तन भएको बताए ।
‘अझ भन्ने हो भने समुदायले त पत्याउँदैन थिए नै स्कुलकै शिक्षकले समेत सरकारी स्कुल पढाउन भनेपछि विश्वास गर्दैनथे यहाँ पढाउने शिक्षकका छोराछोरी पनि निजी विद्यालय पुगेकै हुन्थे तर अहिले शिक्षककै छोराछोरी पनि यहाँ पढिरहेका छन् ।’ उनले भने ।
यस्तै, निजी पढ्ने टपर विद्यार्थी पनि यहाँ विज्ञान सङ्काय पढ्न आइपुगेको उनले जानकारी दिए । उनले यो वर्ष मात्रै विभिन्न विद्यालयबाट धेरै विद्यार्थी आइसकेको बताए ।

सरकारले हरेक स्थानीय निकायमा एउटा नमूना विद्यालय विकास गर्ने योजना बनाएको थियो । स्थानीय निकायका १०० वटा कोटामध्ये पब्लिक पनि परेको हो । कक्षा ६ देखि १२ सम्मको अंग्रेजी माध्यममा पठनपाठन हुँदे आएपछि अझै विद्यार्थी बढेका हुन् । विद्यार्थीहरूको मागलाई मध्यनजर गर्दैै विद्यालयले चारवटा बस सेवा समेत सञ्चालन गरेको छ । यहाँ विज्ञान, म्यानेजमेण्ट, व्यवस्थापन, शिक्षा, इलेक्ट्रिकल इञ्जिनियरलगायतको पढाइ हुने गरेको छ । २०६३ सालबाट प्लस टुको पढाइ शुरु भएको पब्लिकमा सरकारी कोटामा कक्षा–९ देखि नै इलेक्ट्रीकल इञ्जिनिरिङको अध्ययन अध्यापन हुन्छ ।

प्रकाशित मिति: भाद्र १ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend