धरानः धरान–१२ स्थित धरान मेघा–हिमालयन कलेजमा २ दिवसीय बार टेन्डिङ कार्यशाला सम्पन्न भएको छ ।
कक्टेल एन्ड फ्लेयर एकेडेमी काठमान्डौका सिइओ एवम् इन्टरनेसनल बार टेन्डर गुरुप्रसाद दाहालले प्रत्यक्ष अभ्यासद्वारा नै मिक्सोलोजी, फ्लेयरिङ, जग्लिङसम्बन्धी कलेजका विद्यार्थीहरुमाझ प्रदर्शन गरेका थिए । ्
अल्कोहलिक र नन–अल्कोहलिक पेयहरुको मिश्रण बनाउने प्रक्रियालाई मिक्सोलोजी भनिन्छ । कार्यशालामा होटल म्यानेजमेन्टका कक्षा–१२ का ७० जना र कक्षा–११ का १ सय २० गरी १ सय ९० जना विद्यार्थीहरु सहभागी थिए ।
कार्यशालामा धरानको लेवल अप लाउन्ज एन्ड बारका यमन तामाङ र क्लाउड ९लाउन्ज एन्ड बारका मुख्य बार टेन्डर कन्चन पाण्डेले समेत अभ्यासद्वारा बार टेन्डिङको प्रदर्शन गरे।
धरानका नाम चलेका रेस्टुरेन्ट एण्ड बारका युवा बार टेन्डरहरुलाई प्लेटफर्म प्रदान गर्नुका साथै कलेजका होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई उत्साह र उत्प्रेरणा मिलोस् भन्ने उद्देस्यले बार टेन्डिङ कार्यशाला कार्यक्रमको आयोजना गरिएको कलेजका होटल म्यानेजमेन्ट विभागका प्रमुख पोषण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले भने, ‘होटल म्यानेजमेन्ट भन्नेबित्तिकै खाना पकाउने काम मात्र भन्ने आम मानिसहरुको बुझाइ छ तर होटल म्यानेजमेन्ट पढेर कुकिङ, सेफ देखि बार टेन्डिङलगायत धेरै क्षेत्रमा अवसर छ भन्ने कुरालाई दर्शाउन पनि हामीले बार टेन्डिङ कार्यशाला आयोजना गरेका हौं ।’
सोमबार सुरु भई मङ्गलबार सम्पन्न कार्यशालामा होटल म्यानेजमेन्ट कक्षा–१२ मा अध्ययनरत विद्यार्थीहरुलाई कक्टेल एन्ड फ्लेयर एकेडेमीको तर्फबाट प्रमाण–पत्र समेत वितरण गरिएको कलेजका म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेमले जानकारी दिए । कलेजका प्रिन्सिपल भाष्कर पौडेलले विद्यार्थीहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए ।















