Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-तरहरा सडक ‘मृत्युमार्ग’ बन्दै

हाम्रो कोशी आवाज
भाद्र २ २०७९, बिहिबार
धरान-तरहरा सडक ‘मृत्युमार्ग’ बन्दै

धरानः विराटनगर-धरान सडक खण्डअन्तर्गतको तरहरादेखि धरान तीनकुनेसम्मको काम सुस्त हुँदा सडकमा यात्रा गर्नेले सास्ती खेप्दै आएका छन् ।
अहिले सो सडकमा बनेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम समेत बढेको छ । खाल्डाखुल्डी, हिलो र धुलोले गर्दा धरान–तरहराको सडक हिँड्नै नपरोस् भन्दै आवाज उठ्ने गरेपनि काम भने अहिलेसम्म सुस्त नै छ । विशेषगरी साना सवारी साधन मोटरसाइकल, अटो तथा कारहरु खाल्डाखुल्डीका कारण दुर्घटनामा पर्ने गरेका छन् ।
प्रहरीका अनुसार अहिलेको यस्तो सडकको हालतले गर्दा धरानसम्मको सडकमा खाल्डाखुल्डीका कारण तीनजनाले ज्यान गुमाएका छन् भने सयभन्दा बढी सवारी साधन दुर्घटनामा समेत परिसकेका छन् । अझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामी लिएर जाने–आउने एम्बुलेन्सलाई समेत ढिलाइ हुने गरेको छ ।
यसैबीच नेपाली कांग्रेस धरान उपमहानगर समितिले एक विज्ञप्ति जारी गर्दै सडक चाँडो बनाउन माग गरेको छ ।
इटहरीदेखि धरानसम्म जोड्ने १२ किलोमिटर सो सडक निर्माण कार्य जुन गतिमा अगाडि बढ्नुपर्नेमा सो नभई जनताले सास्ती खेप्दै आएको कांग्रेसले जनाएको छ । ‘दिनहुँ सडक दुर्घटना भइरहेको छ, त्यसको लेखाजोखा छैन, तसर्थ यस सडकलाई चाँडोभन्दा चाँडो निर्माण कार्यलाई अगाडि बढाइ जनताको जीवनयापन सहज बनाउन जोडदार माग गर्दछौं’, सचिव जितेन्द्र राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ’, ‘यदि सडक ढिलो बन्ने हो र जनताले जहिल्यै सास्ती खेप्नुपर्ने हो भने सशक्त आन्दोलन गर्न पनि कांग्रेस तयार छ ।’
सो माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय संघीय सरकार, जिल्ला प्रशासन कार्यालयमा पनि बोधार्थ पठाइएको छ ।

अहिले विराटनगरको रानी धरान ६ लेन सडक अयोजनाको दुईवटा ठेक्का सञ्चालनमा छन् । तरहराको पानीपियादेखि सेउती पुलसम्म हिम धुङ् पेसेफिक जेभीले ठेक्का पाएको छ । सेउती पुलदेखि तिनकुनेसम्म रौताहा कन्ट्रक्सनको ठेक्का पाएको छ । सडकको दुवै साइडमा बाटो फराकिलो बनाइएको छ । तर बाटो बनाउँदा थुपारिएको निर्माण समाग्रीले सडक अस्तव्यस्त बनेको छ ।

 

प्रकाशित मिति: भाद्र २ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend