Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेयर साम्पाङको घोषणा

हाम्रो कोशी आवाज
भाद्र ३ २०७९, शुक्रबार
मेयर साम्पाङको घोषणा

धरानः धरानका मेयर हर्क साम्पाङले अब धरानका प्रत्येक स्कुलमा लागूऔषधविरुद्धको ब्रिफिङ गर्नुपर्ने नियम लागू गरिने बताएका छन् ।
धरान–१७ स्थित लागूऔषधविरुद्धको अभियानका क्रममा उनले सो घोषणा गरेका हुन् । उनले विद्यालयस्तरमा १५ मिनेट लागूऔषधविरुद्ध ब्रिफिङ गर्ने नियम लागू गर्ने तयारी गरेको बताए । उनले धरानबाट लागूऔषध दुव्र्यसनको समस्या निमिटयान्न पार्न यो कदम चाल्न लागिएको जानकारी दिए । ‘दुई चारदिनपछि शिक्षा महाशाखामार्फत् सूचना प्रकाशित गरेर प्रत्येक विद्यालयमा थोरैमा पनि १५ मिनेट लागूऔषधविरुद्धको ब्रिफिङ गर्ने अनिवार्य नियम हामी लागू गर्छौं ।’
यो कक्षा लिएजस्तै हुने समेत उनले बताए । ‘यो कक्षा र प्रशिक्षण दिएजस्तै नै हुन्छ’, उनले भने, ‘नैतिकता, अनुशासन, लागूऔषध दुव्र्यसनदेखि टाढा लैजाने खालको ज्ञान दिनु आवश्यक भइसकेको छ ।’
उनले सबै मिलेर भण्डारफोर नगरेसम्म यो लागूऔषध दुव्र्यसनको समस्या ज्युँका त्युँ रहने समेत बताए । उनले यो रोग फाल्न बिनाबर्दीको प्रहरीको रुपमा काम गर्न आह्वान समेत गरे । ‘धरानमा घट्ने अधिकांश आपराधिक घटनाहरु ९५ प्रतिशत लागूऔषधसँग जोडिएको छ’, उनले थपे, ‘कि त लागूऔषध खाएर झगडा गरेको हुन्छ कि त काटमार गरेको हुन्छ, कुनै न कुनै घटना लागूऔषधसँग जोडिएकै हुन्छ, त्यसैले यो कुलतबाट समाजलाई धेरै टाढा लैजानु हाम्रो दायित्व हो, विशेषगरी नयाँपिढीलाई कुलतबाट धेरै टाढा लैजानुपर्छ, यसको लागि यो नियम ल्याउन लागेका हौं ।’
प्रहरीलाई कुटाएर, थुनाएरमात्रै समस्या समाधान हुन नसकेको उनको ठहर छ । उनले चोकचोक, घरघरमा यो अभियान चलाइने बताए । प्रत्येक शुक्रबार ५ बजे चलिरहेको यो अभियान अर्को शुक्रबार बगरकोटमा यस्तो कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

प्रकाशित मिति: भाद्र ३ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend