संखुवासभाः चालु आर्थिक वर्ष २०७९-८० को संखुवासभा जिल्ला भोटखोला गाउँपालिकाको बजेट पालिकाबाहिर १४ लाख ५० हजार विनियोजन गरिएको पाइएको छ ।
भोटखोला गाउँपालिकाको चालु आर्थिक वर्षको बजेटबाट पालिकास्तरीय योजना, आयोजना शीर्षकमा भोटखोला गाउँपालिका बाहिर जिल्लाको खाँदरबारी नगरपालिकामा विनियोजन भएको पाइएको हो । खाँदबारी भोटे समाज भवन निर्माणको लागि ६ लाख रुपैयाँ विनियोजन गरिएको पाइएको छ । त्यसैगरी खाँदबारी नगरपालिकामै रहेको खाँदबारी महिला आमा समूह व्यवस्थापन कार्यक्रम शीर्षकमा ५ लाख रुपैयाँ छुट्याएको पाइएको छ । त्यसैगरी खाँदबारी नगरपालिकाकै हिमालयन चर्च व्यवस्थापन कार्यक्रम खाँदबारी शीर्षकमा ३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको पाइएको छ ।
गाउँपालिमा बाहिर यसरी बजेट छुट्याएको पाइएपछि भोट्खोलाबासी किदुक समाज उर्लाबारी मोरङले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । समाजका अध्यक्ष डुक्चे लामा र सचिव दावाछिरिङ सेक्नेपेदेनले संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा भोटखोला गाउँपालिकाको आ.व २०७९–८० को लागि मिति २०७९–०३–१० गते सम्पन्न गाउँसभाबाट विनियोजित बजेट भोटखोला गाउँपालिकाको विकासको लागि गाउँपालिका भित्र खर्चिनुपर्ने बजेट भोटखोला गाउँपालिका भन्दा बाहिर बसाइसराइ गरी बसोबास गरिरहेका समुदायको लागि समेत विनियोजन भएको पाउँदा हाम्रो ध्यानाकर्षण भएको जनाइएको छ ।
विकासको नाममा भखरै बामे सर्दै गरेको गाउँपालिकाले विकासले परिपक्व भइसकेको नगरपालिकास्तरमा बसोबास गर्ने जनतालाई सहयोग पुरयाउन खोज्नु अत्यन्तै खेदजनक रहेको जनाएको विज्ञप्तिमा जनाइएको छ ।
