धरानः धरानमा वर्षायाममा भन्दा हिउँदमा पानीको अभाव हुने गरेको छ । पानीको अभाव वर्षेनी झेल्दै आएका धरानबासीले पानीको मुहान चहार्दै, पानीको स्रोत पहिल्याएर पानी ल्याउने गरेका पनि छन् ।
यसै क्रममा धरान–१४ (झोलुङ्गेपुल छेऊछाउका) का बासिन्दाले पानीको जोहो गर्न लागिमात्रै परेनन्, पानी ल्याएर खानेपानीको वैज्ञानिक र व्यवस्थित रिजर्भ ट्याङ्की समेत निर्माण गरेका छन् । विजयपुर यायोक्खा टोलमा उपभोक्ताहरुको सक्रियतामा आफ्नै लगानी र परिश्रमबाट खानेपानीमात्रै ल्याएनन् वैज्ञानिक, व्यवस्थित र प्रविधियुक्त ट्याङ्की निर्माण गरेका छन् ।
२० लाख रुपैयाँको लागतमा आफ्नै श्रम र लगानीले पानी ल्याएर र ट्याङ्की निर्माण गरेका हुन् । ‘अहिलेसम्म राज्यको लगानी छैन’, यायोक्खा मार्ग खानेपानी उपभोक्ता समितिका अध्यक्ष मातृका राईले भने, ‘बरु स्थानीय नै मिलेर करिब २० लाख रुपैयाँ खर्चेका छन् ।
यसअघि २ किलोमिटर दक्षिणमा रहेको भालुखोलाको मुहानबाट आफ्नै श्रमले अढाइ इन्चको पाइपमा पानी ल्याएर खाँदै गरेका स्थानीयले अहिले वैज्ञानिक, व्यवस्थित र प्रविधियुक्त ट्याङ्की समेत निर्माण गरेका हुन् । ‘यसअघि पाइपको डाइरेक्ट पानी तानेर दुषित र धमिलो पानी खाइरहनुपरेको थियो’, उपभोक्ता समितिका सचिव केवी राईले भने, ‘अहिले व्यवस्थित र प्रविधियुक्त ट्याङ्की निर्माण गरिएको छ, जहाँ फिल्टरसमेत हुने गर्दछ, धमिलो पानी आए सिधै फाल्ने प्रविधि जडान छ, त्यसैले सफा र शुद्ध पानी खान पाएका छौं ।’
अहिले त्यहाँ ७० हजार लिटरको रिजर्भ टयाङ्की निर्माण भएको छ । स्थानीय निर चाम्लिङको परिकल्पना र डिजाइनमा सो ट्याङ्की निर्माण भएको कोषाध्यक्ष मीना राईले जानकारी दिइन् ।
सो टयाङ्कीको धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले गरे । उनले प्रविधियुक्त ट्याङ्की निर्माण गरेकोमा प्रशंसा गर्दै गरे हुन्नँ भन्ने उदाहरण यहाँ पस्किएको बताए ।
टयाङ्कीको माथिल्लो भागमा रमिता हेर्ने बनाइनुका साथै मिटिङ हल निर्माण गरिएको छ । माथिल्लो भागमै नेपालको राष्ट्रिय झन्डा फहराइएको छ । पानी टम्म भरिँदा झन्डा माथि हुने र पानी रित्तिदै जाँदा झन्डा तल झर्ने प्रविधियुक्त बनाइएको छ । कार्यक्रममा बोल्दै वडाध्यक्ष भट्टराईले टयाङ्कीको माथिल्लो भागमा छाना लगाउने र मिटिङ हलजस्तो वडाले बनाइदिने घोषणा गरे ।
अझ रोचक त के छ भने कतै आगलागी भए टयाङ्कीको पानी दमकललाई जतिसक्दो छिटो दिनसक्ने प्रविधि पनि जडान गरिएको डिजाइनर राईले जानकारी दिए । उनका अनुसार आपतकालका लागि छुट्टै पाइप छुटयाइएको छ । ‘१५ मिनेटमा दमकललाई पानी भरेर पठाउने सिष्टम जडान गरिएको छ ।’ उनले भने ।
सो पानी करिब १ सय ५० घरले उपभोग गर्न पाउने सचिव केवी बताउँछन् । २२ घरधुरीको लागि मिटर जडान भइसकेको उनले जानकारी दिए ।
