विराटनगरः पेस्तोल र रिभल्बरसहित एक व्यक्ति पक्राउ परेका छन् ।
भारतबाट बेच्न भनेर नेपाल ल्याइएका ती हतियारसहित ती व्यक्ति पक्राउ परेका हुन् । हतियार किन्न खोज्ने अर्का एक व्यक्तिलाई पनि सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनवर्षी नगरपालिका–८ का २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ बस्ने २९ वर्षीय नविन धिमाल रहेका छन् ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) सिक्टी मोरङको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । बीओपी सिक्टी मोरङका सशस्त्र प्रहरी निरीक्षक नम प्रभाव राई नेतृत्वको टोलीले उनीहरुलाई हतियारसहित पक्राउ गरी रंगेली प्रहरीमा बुझाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक राई नेतृत्वको टोलीले भारतबाट नेपालतर्फ आइरहेको मोटरसाइकलमा सवार आलमलाई शंका लागेर खानतलासी गर्दा उनको साथबाट अटोमेटिक चाइनिज पेस्तोल र रिभल्बर सिक्सर एक–एक थान बरामद भएको थियो ।