धरान उपमहानगरपालिका–८ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान–८ का ३९ वर्षीय पुरुषोत्तम श्रेष्ठ र धरान–१५ का २९ वर्षीय विनोद दर्नाल रहेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूह र इप्रका धरानबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको साथबाट २ ग्राम र दर्नालको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर बरामद भएसँगै प्रदेश १–०२–००३ ह १६४९ नम्वरको टेम्पोसहित नियन्त्रणमा लिइएका दुवैजनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरी टोलीले विभिन्न मुद्दाका फरार प्रतिवादी तीजनालाई पक्राउ गरेको छ । फरार प्रतिवादी खोजतालासको क्रममा प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा धरान उपमहा नगरपालिका–४ सुनसरीका ४९ वर्षीय महेन्द्रबहादुर थापा, शिवसताक्षी गाउँपालिका–८ झापाका ३७ वर्षीय दिप्सन लावती र सुन्दरहरैंचा नगरपालिका–७ मोरङका २५ वर्षीय सुरज परियारलाई पक्राउ गरेको छ ।
दिप्सन लावती सम्मानित सर्वोच्च अदालतको मिति २०६५।११।२३ गतेको फैसलाले पुनरावेदन अदालतबाट भएको फैसला सदर भई जन्मकैद ठहरेको कर्तब्य ज्यान मुद्दामा फरार रहेको प्रहरी टोलीले पक्राउ गरेको हो भने परियार लागूऔषध मुद्दामा जिल्ला अदालत सुनसरीको मिति २०७५।११।२६ गतेको सजाय निर्धारण फैसला आदेशले २५ दिन कैद, २ हजार रुपैयाँ जरिवाना र थापा सवारी ज्यान मुद्दामा सम्मानित जिल्ला अदालत मोरङको मिति २०७७।११।०९ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना ५ दिन कैद र २ हजार रुपैयाँ जरीवाना बेरुजु रही फरार रहेका थिए । पक्राउ परेका तीनै जनालाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको छ ।