धरानः उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ ।
बेलका नगरपालिका ७ गोबाटारका बस्नेत परिवारका दम्पत्ति र उनीहरुका एक छोराको हत्या भएको हो । गाउँकै एक युवाले खुकुरी प्रहार गरेर हत्या गरेको र उनलाई प्रहरीले पक्राउ गरिसकेको बेलकाका मेयर अशोक कार्कीले जानकारी दिए ।
स्थानीय राजकुमार बस्नेत (३७), उनीकी श्रीमती सरिता बस्नेत (३३) र छोरा १२ वर्षीय सुजन बस्नेतको शव नजिकैको वादिङ खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश पोद्दारले जानकारी दिए ।
एसपी ज्ञानेन्द्र फँयालसहितको टोलीले अहिले अनुसन्धान अघि बढाएको छ । हत्यापछि फरार रहेका ४० वर्षीय नरबहादुर बस्नेतलाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको उदयपुरका प्रहरी प्रवक्ता डीएसपी राकेश पोदारले जानकारी दिए ।
प्रहरीका अनुसार दाजु नाता पर्ने ४२ वर्षीय नरबहादुर बस्नेतले तीनै जनालाई खुकुरी प्रहरी गरी हत्या गरेको जनाएको छ । हत्याको कारण भने खुल्न बाँकी रहेको जनाइएको छ । घटनास्थल भोजपुर जिल्लाको सीमानामा पर्ने दुर्गम स्थानमा रहेका कारण प्रहरीलाई अपराहन ३ बजेतिरमात्रै जानकारी आएको र घटना भने शुक्रबार बिहानकै समयमा भएको उनले बताए ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी निरीक्षक सुभाष खनालको नेतृत्वमा प्रहरी टोली पुगिसकेको जनाइएको छ ।
‘हत्या गरेर स्थानीय खोलामा शव फालेको खुलेसँगै इन्स्पेक्टरको कमाण्डमा टोली घटनास्थलमा छ’ उनले भने, ‘हत्याको आरोपमा हामीले एकजनालाई पक्राउ गरेर प्रारम्भिक अनुसन्धान सुरु गरेका छौँ ।’
अनुसन्धान भइनसकेकाले घटनाका विषयमा यसै भन्न नसकिने उनले बताए । शव पोस्टमार्टमका लागि पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
