धरानः धरान–१४ स्थित धार्मिक पर्यटकीय क्षेत्रको सोमबार सरसफाइ गरिएको छ ।
सिंहदेवीचोकदेखि दन्तकाली मन्दिर परिसरसम्म सरसफाइ गरिएको सेवक अभियानका अध्यक्ष राजीव हलवाईले जानकारी दिए । धरान सेवक अभियानद्वारा १०० हप्ताअगाडि ‘स्वच्छ धरान स्वच्छ नागरिक’ भन्ने मूल नाराका साथ वाकिङ विथ क्लिनिङ अभियानसाथ शुरु गरेको अवसरमा सो कार्यक्रम राखिएको उनले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि धरानका मेयर हर्क साम्पाङले धरानलाई सफा धरान बनाउने अभियानमा लागे पनि नागरिक स्तरबाट जनचेतना नभएकै कारण पूरा गर्न कठिन भएको बताए । ‘अझै सचेतना अभियान चलाउनु जरुरी छ’, उनले भने । मेयर साम्पाङले भोला गुट्खा खाने, पानी खाएर बोतल जताततै फाल्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरे ।
धर्मिक क्षेत्रमा समेत जताततै फोहोर फालिएको पाइएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए । ठाउँठाउँमा डस्विन र फालिएको फोहोर व्यवस्थापन गर्न दीर्घकालीन डम्पिङ हुनुपर्ने उनले बताए । नेपाली कांग्रेसका धरान नगर समितिका पूर्व सभापति किशोर राईले पनि सरसफाइ फोहोर व्यवस्थापनमा अब उपमहानगरपालिकाले नीति नै बनाएर लानुपर्ने बताए ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, पूर्व मेयर तिलक राई, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, मितेरी बैंकमा सिईओ तुलसीप्रसाद वस्ती, अन्तर्राष्ट्रिय सरसफाइ अभियानका अभियान्ताद्वय काठमाडौंबाट राजमान मानव र सुशिला मानन्धर समेतको पनि सहभागिता रहेको थियो । कार्यक्रममा धरान–१० स्थित मेरिल्याण्ड स्कुल र धरान–१ स्थित मोडल कलेजका विद्यार्थी, शिक्षक पनि उपस्थिति थिए ।





