धरानः धरानमा भूमिहीनलाई धनीपुर्जा वितरण प्रक्रिया अझै अघि बढ्न सकेको छैन । धनीपुर्जा वितरण गर्न कम्तीमा दुई महिना लाग्ने भूमि आयोग सुनसरीका अध्यक्ष भगिरथ खत्वेले जानकारी दिएका छन् ।
अध्यक्ष खत्वेले सुनसरी जिल्लाको धरान र बराहक्षेत्रमा यो प्रक्रिया शुरु गरिएको बताए । धरानमा नगरपालिकाले सम्पूर्ण डाटा दिइसकेको र अब वडाबाट सम्पूर्ण काम भए निस्सा वितरण गरिने अध्यक्ष खत्वेले जानकारी दिए ।
आयोगले एक घरपरिवारलाई कम्तीमा पौने सात धुर जग्गा दिने तयारी रहेको बताए । उनले लालपुर्जा पाएको १० वर्षसम्म बेचबिखन गर्न नपाउने व्यवस्था गरिएको बताए । धनीपुर्जा प्राप्त गर्दा नेपाल सरकारलाई सरकारी मूल्यको पाँचदेखि सय प्रतिशतसम्म राजश्व बुझाउनुपर्ने प्रावधान रहेको समेत अध्यक्ष खत्वेले बताए । ‘सुकुम्बासी जसले पैसा नभएकै कारण जग्गा किन्न सक्दैनन्’, उनले भने, ‘यसको लागि स्थानीय तहसहित धरान उपमहानगरको हातमा रहेको छ, यी कुरा मेयरलाई समेत राखिएको छ ।’
मङ्गलबार जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले यस विषयमा अन्तक्र्रिया कार्यक्रममा समेत राखेको छ । पार्टीका सङ्घीय परिषद अध्यक्ष अशोक राईको विशेष उपस्थितिमा भएको अन्तक्र्रियामा अध्यक्ष राईले राजश्व सकेसम्म पाँच प्रतिशत बनाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
जनता समाजवादी पार्टी सुकुम्बासी समिति अध्यक्ष केशव कालिकोटेले धरान उपमहानगरभित्र धनीपुर्जा वितरणमा ढिलाइ हुनुमा वडा समितिको कारणले भएको बताए । उपमहानगरपालिकामा सबै तथ्याङ्क चढाइसकेको र वडाबाट प्रक्रिया अघि बढ्ने उनले बताए । उनले धरान–५ को सेउती खोलाको किनारामा बस्नेले धनीपुर्जा नपाउने समेत बताए । उनीहरुले त्यही बस्न पाउने तर त्यहाँको जग्गामा धनीपुर्जा पाउन नसक्ने उनको भनाइ छ । त्यसको विकल्पमा वडा अन्यत्र सट्टाभर्ना गरिनुपर्ने उनले बताए । त्यसैगरी दुई, तीन धुर जग्गामा पनि आयोगले पुर्जा दिने प्रावधान नरहेको बताए ।