धरानः धरानमा लाउन्ज एण्ड बार राति दुई बजेसम्म खोल्ने एजेन्डामा छलफल भएको छ ।
धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा सो एजेन्डामाथि छलफल भएको हो । होटल र रेष्टुरेण्ट (लाउन्ज एण्ड बार) सम्बन्धी नयाँ मापदण्डका रुपमा कार्यपालिका बैठकमा प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले सो प्रस्ताव ल्याइएको जानकारी दिएका थिए । उपमेयर अइन्द्रविक्रम बेघाले नयाँ मापदण्डबारेको बारेमा पढेर सुनाएका थिए ।
नयाँ ल्याइएको मापदण्डमा लाउञ्ज एण्ड बार बढीमा राति २ बजेसम्म खोल्न पाउने उल्लेख छ भने सामान्य प्रकृतिका होटल तथा रेष्टुरेण्ट भने बढीमा राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाउने जनाइएको छ ।
नयाँ मापदण्डमा लाउन्ज एण्ड बार र होटलहरुले ग्राहकलाई मदिरा खुवाउँदा होस हवास हराउने गरी वा ग्राहकले आफूलाई नियन्त्रणमा राख्न नसक्ने गरी धेरै मात्रामा मदिरा सेवन नगराउन पाउने उल्लेख गरिएको छ । यस्तै, मदिरा सेवन गरी अत्याधिक मातेका ग्राहकलाई घरसम्म पुरयाउने सवारीको व्यवस्था गर्नुपर्ने समेत नयाँ मापदण्डमा उल्लेख छ ।
यस्तै, ग्राहकको सुरक्षाको लागि सिसिक्यामेरा जडान, प्राइभेट वा छुट्टै पार्किङको व्यवस्था, साउण्ड फ्रुफको व्यवस्था, कर्मचारीको पहिचान खुल्ने पोशाक र बाउन्सरको व्यवस्था हुनुपर्नेलगायतका मापदण्ड समेत ल्याइएको छ ।
रात्रीकालिन बजारको माग सम्बन्धित होटल व्यवसायी तथा रेष्टुरेष्टहरुले धेरै अघिदेखि माग गर्दै आएको र यो किसिमको एजेन्डा अघि सारिएको मेयर साम्पाङले बताएका छन् ।
छलफलपछि थप सल्लाह सुझाव लिने तथा सम्बन्धित सरोकारवाला पक्षसँग समन्वय गरेर अध्ययन प्रतिवेदन दिने गरी अनुगमन समिति बैठकले गठन गरेको छ । धरान–२ का वडाध्यक्ष रमेश राईको संयोजकत्वमा वडाअध्यक्ष, कार्यपालिका सदस्य, नगर प्रहरी प्रमुख सदस्य रहने र सम्बन्धित महाशाखा प्रमुख सदस्य सचिव रहने गरी समिति गठन समेत भएको छ । साताभित्र सो समितिले प्रतिवेदन बुझाउने र अर्को बैठकमा प्रस्तावलाई पारित गरिने उपमेयर बेघाले जानकारी दिए ।
