Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जहाँ ‘कल्चरल ड्रेस’ मा स्कुल आउँछन्

हाम्रो कोशी आवाज
असोज ५ २०७९, बुधबार
धरानमा जहाँ ‘कल्चरल ड्रेस’ मा स्कुल आउँछन्

धरानः केहीदिनअघि धरान-१६ स्थित सियोन स्कुलकी छात्रा आश्मा श्रेष्ठ राई समुदायको पोशाकमा विद्यालयमा उपस्थित भइन् । उनी फरक समुदायकी भएपनि राई जातिको पोशाकले आकर्षित गरेको र छिमेकमा रहेकी साथीको पोशाक आफूलाई समेत फिट हुने भएकोले मागेर लगाएको बताइन् । ‘म नेवारी समुदायको हुँ तर अन्य जातिमध्ये राई जातिको संस्कार, संस्कृति जान्न साथै पोशाक लगाउने कौतुहलता पहिलादेखि नै थियो’, उनले भनिन्, ‘यही पहिरनमा स्कुलसम्म पनि आइपुगेको छ, खुशी र गर्वले पुलकित छु ।’
लिम्बू पहिरनमा सजिएर आएकी साइना देवानले जातीय पोशाकले आफ्नो मौलिक परम्परा जोगाउन सिकाउने बताइन् । ‘जातीय पोशाकले विद्यार्थीले संस्कार, संस्कृति सिक्ने भुल्न नहुने रहेछ भन्ने ज्ञान हुन्छ भन्ने बुझेकी छु’, उनले थपिन् । धरानका विद्यार्थी ‘कल्चरल’ पोशाकमा सजिएर स्कुल पुग्न थालेका छन् । छात्रछात्रा मात्रै होइन शिक्षकहरु पनि जातीय पहिरनमै सजिएर पुगेका थिए । अचम्म त के थियो भने एउटा जातिको विद्यार्थीले अर्को जातिको पहिरनमा समेत सजिएर पुगेका थिए ।
स्कुलमा राई, लिम्बू, नेवार, मगर, तामाङ, शेर्पा, मधेशी, क्षत्री बाहुनलगायतका जातिको पहिरनमा विद्यार्थी उपस्थित थिए । स्कुलका निर्देशक खड्गबहादुर थापा मगरले विद्यार्थीलाई कल्चरल पोशाकमा विद्यार्थीलाई उत्साह प्रदान गर्दै आएको जानकारी दिए । उनले अधिकांश विद्यार्थी यस्तो पोशाकप्रति उत्साहित भएको र अभिभावकले पनि सपोर्ट गर्दै आएको बताए । उनले स्कुलले हाउसअनुसार विभाजन गरेर पोशाक लगाउने विद्यार्थीलाई पुरस्कृत र प्रोत्साहित गर्दै आएको समेत बताए । ‘संस्कार, संस्कृति र भेषभुषाप्रतिको मोह जगाउँदै हराउँदै गएको आफ्नो भेषभुषा, संस्कार, संस्कृतिको संरक्षणमा टेवा पुगोस् भन्ने हाम्रो उद्देश्य हो ।’ उनले भने ।
उनले धरान उपमहानगरपालिकाले पनि संस्कार, संस्कृति जोगाउन कल्चरल पोशाकमा विद्यार्थीलाई सघाउने खालको नीति ल्याए अझै राम्रो हुने उनले जानकारी दिए । ‘एकपटक मेयर हर्कराज राई साम्पाङले पनि स्कुलले विद्यार्थीलाई सांस्कृतिक पहिरनमा सजिन आह्वान गर्नुभएको थियो, सियोनले मात्रै होइन, अन्य स्कुल साथै स्थानीय सरकारले पनि संस्कार, संस्कृति जोगाउन चासो दिनु पर्दछ, मेयर साम्पाङको आह्वान एकदम ठीक छ ।’
आफ्नो पहिचान, संस्कृति, संस्कार र भेषभुषाको संरक्षण र सम्वद्र्धनमा टेवा पुगोस् भनेर यस्तो कार्यक्रम राख्दै आएको भाइस प्रिन्सिपल राकेश चौधरीले बताए । यही भेषभुषा, संस्कार, संस्कृति देखाएर पनि पर्यटक भित्रयाउन सकिने बताउँदै उनले यसबारेमा बहस थालिनुपर्ने बताए । ‘आफ्नो पहिचान, संस्कार, संस्कृति, भेषभुषाबारे विद्यार्थी जानकार बनुन भन्ने हाम्रो उद्देश्य हो’, उनले थपे, ‘अझ भन्ने हो भने नेपाली पहिरन, त्यो पनि विभिन्न जातजातिको पहिरनको फाल्टै महत्व छ, यसैलाई देखाएर पनि नेपालमा पर्यटकहरु भित्रयाउन सकिन्छ तर स्थानीय सरकार तात्नुपर्छ, यसबारेमा बहस चलाउनुपर्छ ।’ तस्वीरहरुः शेखरनाथ जोगी

प्रकाशित मिति: असोज ५ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend