बिर्तामोडः झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ वर्षीय एलबी भन्ने लालबहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका–५ पकुवास्थितमा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएको बुधबार बेलुका ५ बजे १०–१२ जना अपरिचित ब्यक्तिहरुले बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुलनजिक धारिलो हतियार खुकुरी, ढुंगा प्रहार गरी शरीरको विभिन्न भागमा काटी गम्भिर घाइते बनाइ घटनास्थलबाट भागी फरार भएको र घाइते गुरुङको बि एण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु थियो ।
घटना सम्बन्धमा तत्काल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरिक्षक दिलिप घिमिरेको कमाण्डमा परिचालन भएको प्रहरी टोलीले घटनामा संलग्न ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा चुलाचुली–४ इलामका २५ वर्षीय शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेशकुमार याखा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेयाङ याक्खा, ३३ वर्षीय सन्तु भन्ने चन्द्रकुमार यवा, ३५ वर्षीय डम्बर यवा, ३० वर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीय विक्रम हिङमाङ र २९ वर्षीय पर्शु राई समेत ९ जनालाई विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई घटनामा प्रयोग भएको दाप सहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुङ्गाहरु तथा मृतकले प्रयोग गरेको को१९प ३७२५ नम्बरको मोटरसाइकलको दुवै चक्काको टायर काटी फालेको अवस्थामा फेला परी बरामद गरेको हो ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटना भएको तीनदिन अगाडि मृतक गुरुङले घटनामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफ्नै भाइ सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घटनाको बदला लिन आरोपीहरुले कुटपिट गरी मार्नेसम्मको योजना बनाएको खुल्न आएको छ । घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।