Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जनश्रमदानबाटै पानी आएपछि हर्षबढाइ

हाम्रो कोशी आवाज
असोज ९ २०७९, आइतबार
धरानमा जनश्रमदानबाटै पानी आएपछि हर्षबढाइ

धरानः धरानको स्वस्तिकचोकमा आइतबार करिब ४ बजेतिर एककिसिमको रौनक नै छायो । कारण थियो– त्यहाँसम्म सर्दु, खर्दु र निशानेको पानी जनश्रमदानबाटै आइपुग्नु ।
१० इन्चको पाइपमा पानी झरेपछि स्थानीयले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँगै हर्षबढाइ नै गरे । हर्षित मुद्रामा तँछाडमछाड गर्दै नुहाउन कसिनेहरुको भीड नै लाग्यो । मेयर साम्पाङलाई स्थानीयले पानीमै नुहाइमात्रै दिएनन् जुरुक्कै उचाले पनि । पानी आएको खुशीयालीमा स्थानीय मेयर साम्पाङकै बारेमा बनेको ‘पाएँ हर्क साम्पाङ’ बोलको गीतमा पनि खुब नाचे ।
सर्दु, खर्दु र निशानेको पानी धरानस्थित स्वस्तिकचोकको खानेपानी टयाङ्कीसम्म आइपुगेको हो । पानी ल्याउन धरानलगायत अन्य जिल्लाबाट आएका हजारौंले श्रमदान गरेका छन् । स्थानीय मेहरमान ह्युजले घरकै छेऊमा पानी आइपुग्दा खुशी लागेको बताए । उनका अनुसार धराने जनताको मिहिनेत, परिश्रमका साथ श्रमदानबाट पानी आउनु ठूलो कुरा भएको बताए ।
मेयर साम्पाङले समेत अफिसको समयमा फुर्सद निस्किनेवित्तिकै सर्दु, निशाने खोलामा दौडिरहने र त्यहाँ पुगेर जनतासँगै ढुङ्गा बोक्न, बालुवा, सिमेन्ट बोक्न अनि पाइप तान्न सघाउने गरेका थिए ।
धरानबासी, देशविदेशदेखि निरन्तर साथ र सहयोगले जानकी चोकमा जनताले नै श्रमदान गरेर पाइप तान्दै त्यहाँ ल्याइपुरयाएका हुन् । १० इन्चको पाइपमा फोर्समा पानी आएको हो । तर त्यहाँ सर्दुको पानी जोडिएको भने छैन । सर्दुको पानी वर्षाका कारण अलि धमिलो भएका कारण त्यहाँ नजोडिएको प्रोजेक्ट म्यानेजर दत्तकुमार लिम्बूले जानकारी दिए ।
अहिले मेयर साम्पाङ धरानबासीलाई जसरी पनि पानी खुवाउँछु भन्दै सर्दु, निशाने र खर्दुको मुहानमा काम अघि बढाइरहेका छन् । त्यहाँ दुई लाख लिटरको ट्याङ्की निर्माणको काम तीब्र गतिमा अघि बढेको छ । त्यहाँ अहिले पानीट्याङ्की निर्माणको काम भने भइरहेको छ । सो ट्याङ्की निर्माणमा गोर्खा पिस फाउन्डेसन युकेले सहयोग गरेको छ । फाउन्डेशनका सुपरभाइजर ललितचन्द्र राईले २ लाख १० हजार लिटर क्षमताको ट्याङ्की बनाएर उपमहानगरपालिकालाई हस्तान्तरण गरिने जानकारी दिए ।
‘धरानमा रहेका पुराना संरचनालाई मर्मत गर्दै नयाँ स्रोत भेटिए, त्यसबाट पनि पानी ल्याउँछु’, मेयर साम्पाङ भन्छन्, ‘अब सर्दु, खर्दु र निशानेबाट पानी ल्याइसकेपछि मेरो ध्यान अन्यतिर मोडिनेछ ।’ मेयर साम्पाङले भने । उनले अबको प्रोजेक्ट शिवजट्टातिर सोझिने र भोलि (सोमबार) नै त्यहाँ अवलोकनका लागि पुग्ने समेत बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असोज ९ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend