धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङलाई जनभावनाअनुसार अघि बढ्ने मेयर भनेर धेरैले तारिफ र चर्चा समेत गर्दै आएका छन् ।
आइतबार नै काठमाडौंमा ठेलामा व्यापार गरिखाने सर्मिला तामाङलाई तलबको ५० हजार रुपैयाँ सहयोग गरेपछि थप चर्चा र तारिफसमेत पाउँदै आएका मेयर साम्पाङले धरानमा आफ्नो घरअगाडि रहेको ड्रेन सफाचट पार्नेलाई सम्मान गरेर फर्किएका छन् ।
अफिसबाट सिधैं खदा लिएर पुगेका मेयर साम्पाङले धरान–१३ सूर्यमार्गका काजी सुनुवारको घरमा पुगेर उनलाई सम्मान गरेर फर्किए । सम्मान पाउँदा सुनुवार हर्षित बनेका छन् । ‘मेयर नै आएर सम्मान गर्न खुशीसँगै गर्वको महसुस भएको छ’, उनले भने ।
काम विशेषले धरान–१३ पुगेका मेयर साम्पाङले सुनुवारले बाटोमा नाली (ड्रेन) सफा गर्दै गरेको पाएपछि आफैंले प्रश्न सोधेका थिए–यो नाला सफा गरिरहनुभएको छ किन त्यस्तो गरिरहनुभएको छ दाइ, उत्तरमा सुनुवारले आफ्नो घरअगाडि आफैं सफा गर्नुपर्छ भन्ने सन्देश दिएका थिए । सो भिडियो मेयर साम्पाङले फेसबुकमा पोष्ट गरेका थिए र भनेका थिए– भोलि आइतबार ११ बजे वहाँलाई सम्मान गर्न म वहाँको निवास जानेछु । सचेत नागरीकलाई मैले सम्मान नगरेर कस्ले गर्छ त ?
सोमबार उनको घरमै पुगेर मेयर साम्पाङले सम्मान गरेका थिए । सचेत नागरिकले गर्नुपर्ने कर्तव्य पूरा गरेकोले आफूले सम्मान गरेको मेयर साम्पाङले बताए । ‘म आज तपाईलाई खदा लगाएर सम्मान गर्छु ल, एउटा सचेत नागरिक हुनुहुँदोरहेछ, तपाईले हाम्रो सरसफाइ अभियानमा हामीले भन्न खोजेकै कुरा र काम गरिरहनुभएको रहेछ मैले उहाँलाई सम्मानस्वरुप खदा लगाएर सम्मान गरें है’, सम्मान कार्यक्रममा उनले भनेका शब्द हुन्, ‘तपाईजस्तै मान्छे सबैजना भइदिए धरानमा यो सरसफाइ विभाग नै राख्नुपर्दैनथ्यो, हा हा हा (हाँसो), करोडौं रुपैयाँको खर्च छ यो सरसफाइ टुङ्गो लगाउन ।’
उनले फोहोर नफालौं, धरान सफा राखौं भन्ने सन्देश छर्न पनि उनलाई सम्मान गरिएको बताए । सम्मान पाएपछि सुनुवारले मेयर साम्पाङ आएपछि पानी पनि सहज तरिकाले आइरहेको भन्दै तारिफ गरे । ‘उहाँजस्तो मेयर त आउँदैनन् होला, जन्मिएका पनि छैनन्, आउने पनि छैनन् जस्तो लाग्छ’, उनले तारिफ गरे ।
कार्यक्रममा सुनुवारले दशैंदेखि यता फोहोर टिप्ने गाडी नआएको गुनासो सुनाएपछि वन, वातावरण तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख भेषराज घिमिरेलाई फोन गर्दै तत्कालै फोहोर उठाउन कर्मचारीलाई निर्देशन दिन भन्दै फर्किएका छन् ।