Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१४ को झोलुङगेपुल थप रमितलाग्दो हुने

हाम्रो कोशी आवाज
कार्तिक १ २०७९, मंगलबार
धरान-१४ को झोलुङगेपुल थप रमितलाग्दो हुने

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई अहिले जसरी भएपनि (पानीको मुहान थपेर भएपनि) धरानबासीलाई पानी खुवाउने ध्याउन्नमा छन् ।
म जे बोल्छु, त्यो गर्छु भन्दै अघि बढेका मेयर साम्पाङले पकुवा खोलाबाट धरान–११ र १७ बासीलाई पानी ल्याए । पकुवाको पानी ल्याएसँगै उनले त्यहाँ बोलेका थिए– म धरानमा साबुन फ्याक्ट्री बनाउन चाहन्छु । अहिले सो का लागि प्रक्रिया पूरा भई फ्याक्ट्रीका लागि धरान–२० र ११ को बीचमा रहेको झोलुङ्गे पुल छेऊमा केही कामको थालनी समेत भएको छ ।
सर्दु, खर्दु र निशाने खोलामा मुहान थपेर पानी समेत ल्याइसकेका साम्पाङ अहिले भालुखोला र सेउती खोलाबाट पानी ल्याउन लागिपरेका छन् । त्यहाँ पुगेका उनले त्यहाँ अस्थायी पोखरी बनाएर चर्चा कमाएका छन् ।
उनले त्यहाँ अस्थायी पोखरी बनाएको भनेपनि आफूले नमूनाको रुपमा देखाएको बताउने मेयर साम्पाङले धरान–१४ मै पोखरी निर्माण गर्ने बताएका छन् । धरान–१४ को बुढासुब्बा मन्दिर केही पर झोलुङ्गे छेऊमा मेयर साम्पाङले पौडी पोखरी निर्माण गरेर पर्यटक तान्ने कुरा गरेपछि वडाध्यक्ष पनि हौसिएर लाग्ने बताएका छन् । सो पुल केहीमाथि मेयर साम्पाङले पौडी पोखरी निर्माण गर्ने भनेर ‘कन्सेप्ट’ बताएपछि श्रमदानमै पुगेका धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई पनि हौसिएका हुन् । उनले मेयर साम्पाङको कन्सेप्टअनुसारको पौडी पोखरी निर्माण गर्ने हो भने धरानको पर्यटनमा थप टेवा पुग्ने बताए ।
‘झोलुङ्गे पुलदेखि केही माथि खाली जग्गामा अर्को सालचाहिँ नेचुरल स्वीमिङ पुलको काम थालौं भन्ने लागेको हो’, मेयर साम्पाङले भने ।
वडाध्यक्ष भट्टराईका अनुसार मेयर साम्पाङले पौडी पोखरीको कन्सेप्ट बताएको र झोलुङ पुल माथिको जग्गाबारे पनि चासो लिएको बताए । ‘नगर प्रमुखज्यूको यहाँ एउटा कन्सेप्ट पनि आयो, झोलुङ्गे पुल मास्तिर ठूलो पोखरी बनाइदिँदा कस्तो हुन्छ समेत भन्नुभयो, मैले राम्रो भनेको छु ।’ उनले भने ।
सो पुलले अहिले पनि आन्तरिक र बाहय पर्यटक समेत तान्दै आएको छ । यहाँ दिनहुँजसो रमित हेर्न, सेल्फी खिच्न, केहीबेर टोलाउन, मनोरञ्जन लिन युवापुस्तादेखि अन्य पुग्ने गरेका छन् । भालुखोला र सेउती खोलाबाट धरान–१५ का लागि पानी ल्याइँदैछ । मेयर साम्पाङसहित श्रमदानमा आउनेहरुले पाइप तान्दै पुलमुनि ल्याइपुरयाएका छन् ।
उनले धरान–१४ ऐतिहासिक, धार्मिक सम्पदाको क्षेत्र भएकोले अझै धरानको पर्यटनमा टेवा पुग्ने धारणा राखे । धरानको पर्यटकीय गन्तव्य विजयपुरस्थित दरबारस्थल र प्रसिद्ध धार्मिकस्थल पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा मन्दिरजस्ता चर्चित र महत्वपूर्ण मठमन्दिर छन् ।

प्रकाशित मिति: कार्तिक १ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend