Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेयर साम्पाङको समूह भोट माग्दै घरघरमा पुग्दा…

हाम्रो कोशी आवाज
कार्तिक १८ २०७९, शुक्रबार
मेयर साम्पाङको समूह भोट माग्दै घरघरमा पुग्दा…

धरानः सुनसरी क्षेत्र नं. १ का चुनावी रौनक बढ्दै गएको छ । दलका नेताहरु पनि अहिले भोट माग्दै घरघरमा पुगिरहेका छन् ।
यसैबीच धरानका मेयर हर्कराज राई साम्पाङ समूहको टोली पनि भोट माग्दै बराहक्षेत्रका विभिन्न स्थान पुगेको छ । मतदातामाझ पुग्दा मतदाताहरुको गुनासो मात्रै सुनेर फर्किएको सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका तर्कबहादुर मगरले बताए । पार्टीहरुले अहिलेसम्म खासै केही मुहार फेर्न नसकेको र यसपटक मुहार फेर्न सक्नेलाई भोट दिन्छौं भन्दा छाती फुल्दै गर्ववान्वित बनेर फर्किएको उनले जानकारी दिए ।
बराहक्षेत्र–२ अम्बरराज राईले यसअघि आशा र अपेक्षाका साथ जातजातिजस्तै मानेर पार्टीहरुलाई मत खसाल्दै आएको तर विकास गर्न नसकेको महसुस भइरहेको बताए । उनले यसपटक पार्टी नभई स्वतन्त्र व्यक्ति नै रोज्ने बताए । ‘जितेर गइसकेपछि नबिर्सिनुहोला, पार्टीले जस्तो नबिर्सिनुहोला, हाम्रो दुःखसुखमा साथ दिनुहोला ।’ (हे. भिडियो) ।
आफ्नो टोलको २६ परिवार स्वतन्त्र नै भएको र बराहक्षेत्रभरी यो सन्देश छरिररहेको उनले बताए । उनले अग्रिम जीतको शुभकामना समेत दिए । स्थानीय राधा अधिकारीले पार्टीले खासै परिवर्तन गर्न नसकेको देखेर आफूहरु स्वतन्त्रप्रति नै आकर्षित भएको बताइन् ।
धनसरी राईले आफू पार्टीकै कार्यकर्ता भएको बताउँदै यसपटक चुपचाप लागेर स्वतन्त्रमै मत खसाल्ने योजना बुनेको बताइन् । देवी श्रेष्ठ दलहरूले उँभो नलाउने देखेर आफूहरुले यसपटक गोप्य मतदान गर्न लागेको बताइन् ।
स्थानीय मनोजकुमार राईले आउँदो चुनावमा साना दल तथा स्वतन्त्रबाट जितेर के नै पो हुन्छ र भन्नेहरुलाई चिर्दै अघि बढ्न सुझाए । उनले थपे, ‘१५–२० जनामात्र संसद्रु सिंहदरबार छिरे भनेपनि उनीहरूले सकारात्मक तरङ्ग ल्याउन सक्छन । जस्तो अहिले बालेन शाह र हर्क साङ्गपाङ्गले गर्दैछन् । एक सिटे संसद्लाई त सरकार निर्माणको बखत खोसाखोस हुन्छ भने १५–२० जनाको मूल्य ठुलो हुन्छ । करिब २–३ वटा मन्त्रालयमा त्र यी नवआगन्तुकले पाए भने उनीहरूले केही गरेर देखाउन सक्छन् । गर्न दिएनन भने प्रधानमन्त्रीको भण्डाफोर गरेर सरकार छोड्न सक्छन् । यो कुरा जनताले नोट गर्नेछन र आगामी चुनावमा यी नवआगन्तुकको झन् राम्रो परिणाम देखिनेछ ।’
उनले समाजको सुक्ष्म अध्ययन गर्दा अब नेता होइन जनता सच्चिन तयार हुनुपर्ने बताए । ‘देशले त हारिरहेको छ नै, हामी स्वयं पनि हार्दैछौं, यो अठोटका साथ हामी जानुपर्छ ।’ उनले भने, ‘आउने चुनावमा वास्तविक जितको सूत्र पहिल्याउन जरुरी छ ।’
कार्यक्रममा बोल्दै मेयर साम्पाङ समूहबाट उम्मेदवार बनेका तर्कबहादुरले आफूहरुले गर्नसक्ने मात्रै आश्वासन दिएको र जनताको दुःखपीडामा सधैं साथ रहने बताए ।
पार्टीले भ्रम छर्दै हामी पनि स्वतन्त्र हौं भन्दै हिँडेकोले आफूहरुले भ्रम चिर्न मात्रै हर्क साम्पाङ समूह भन्दै हिँडेको बताए । ‘हामी सक्कली स्वतन्त्र र हर्क साम्पाङ समूह किन भनिरहेका छौं भने धेरैजना पार्टीबाट टिकट नपाएपछि बागी बन्दै स्वतन्त्र भन्दै आइरहेका छन्, उनीहरु पार्टीको मुखुण्डो ओढेर आएका हुन्, त्यसैले पनि यस्ता भ्रम चिर्न हामीले खासमा खाँटी र असली हामी हौं भन्दै हिँडिरहेका हौं ।’
प्रदेशसभा ख तर्फ अर्थात् धरान र बराहक्षेत्रबाट उम्मेदवार बनेका हेमचन्द्र राईले आफूहरुले नै यो क्षेत्रको भिजन र मिसन बोकेर हिँडेको हुनाले जिताउन आग्रह गरे । ‘हामी गर्नसक्नेमात्रै आश्वासन बोकेर हिँडेका छौं’, उनले भने, ‘त्यही कारण पनि यस क्षेत्रको विकासका लागि एकपल्ट हामीलाई हेरौं ।’ उनले धरानमा मेयर साम्पाङले जति मुहार फेर्दै अघि बढेको देखिन्छ, त्यसैगरी यस क्षेत्रको विकास पनि कामले गरेर देखाउने प्रतिबद्धता आफूहरुसँग रहेको बताए । ‘जितेर गएको खण्डमा विकासको योजना बनाउँदा हामी यतिचाहिँ ग्यारेन्टी गर्छौं कि यहाँका जनताहरुसँग बसेर फिल्डमै योजना बनाउँछौं र कार्यान्वयनको दिशातर्फ लाग्छौं एकपैसा भ्रष्टाचार गर्दैनौं ।’

प्रकाशित मिति: कार्तिक १८ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend