Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पानमारा मन्सुलीको चर्चा

हाम्रो कोशी आवाज
मंसिर ११ २०७९, आइतबार
धरानको पानमारा मन्सुलीको चर्चा

धरान ६ पानवारीका सानु लिम्बूलाई धान झाँट्ने चटारो छ । चुनाव अघि नै खेतको धान काटिसकेका उनले भोट हाल्ने दिन काम रोके । धान काट्न ढिला गरे रोगकीरा लाग्ने डर । मौसम प्रतिकूल भए पाकेको धान थन्क्याउन नपाइने । धन्न मौसम खुलेकाले उनी मतदान गर्न गए । चुनावपछि धानको पकेट क्षेत्र मानिएको सुनसरीको धरान ६ पानवारीका किसानलाई धान काट्ने र झाँट्ने चटारो छ ।
अघिल्ला वर्ष रोगकीराको तीव्र प्रकोप थियो पानवारीमा । अहिले फाट्टफुट्ट खेतमा सामान्य प्रकोप देखिए पनि धानका पूष्ट बालाले किसान उत्साहित देखिन्छन् । पानवारीकै वीरेन्द्र लिम्बू यस पटक उत्पादन बढ्नेमा आशावादी रहेको बताउँछन् ।
धरान ६ पानवारीका कृषक पदमबहादुर पिठाकोठे मगर प्रत्येक दुई वर्षमा धानका नयाँ बीउ फेर्छ्न् । लामो समयसम्म एउटै बीउ लगाउँदा रोगकीराको प्रकोपले सताउने उनको अनुभव छ । पानवारीको आफ्नै ब्राण्ड पानमारा मन्सुली किसानले बीउ फेर्दै आएपछि लोप भएको छ । पानमारा मन्सुलीलाई मिथिला, राधा-१२, रन्जितलगायतका बीउले प्रतिस्थापन गरेको छ ।
पानमारा मन्सुली: बजारमा ब्राण्ड छ, खेतमा बीउ छैन
सुनसरीको धरानस्थित पानवारी तथ्याङ्कमा धानको पकेट क्षेत्र हो । तर मुख्य ब्राण्ड पानमारा मन्सुली माँसिदै गएको छ । खेतमा बीउ छैन । बजारमा ब्राण्ड भने बिक्रीमा छ ।
केही वर्ष अघिसम्म धानको पकेट क्षेत्र थियो पानवारी। पानमारा मन्सुलीले परिचित चामल पूर्वमै अत्यधिक माग हुन्थ्यो । अहिले खेतमा पानमारा मन्सुली धानको बीउ माँसिदै गएको छ । रोगकीराको प्रकोपका कारण मासिएको पानमारा मन्सुलीलाई मिथिला, राधा-१२, रन्जितलगायतका बिउले प्रतिस्थापन गरेको छ ।
पानमारा मन्सुलीमा रोगकीराको अत्यधिक प्रकोपका कारण किसानहरुले लगाउनै छाडेको धरान ६ पानवारीका कृषक पदमबहादुर पिठाकोठे मगर बताउँछन् । एक कट्ठामा ५ मनसम्म उत्पादन हुने पानमारा मन्सुली धानको बीउ खेतमा हराउँदै गएको छ तर बजारमा ब्राण्ड भने बिक्री भइरहेको छ ।
जिरा मसिनोका कारण नेपाली चामल विस्थापित
भारतबाट आउने चामलका कारण नेपाली चामलको माग न्यून हुँदै आएको छ ।
भारतीय जिरा मसिनो चामल आयतमा वृद्धि हुँदै गएपछि स्थानीय मन्सुली चामलको माग घट्दै गएको छ ।
‘चामल मोटो भयो, भन्ने धेरै ग्राहकहरुको गुनासो छ, लोकल चामलको बजारमा माग घट्दै गएको छ ।’ धरानका चामल व्यावसायी मलती ट्रेडर्सका सन्चालक विन्दा साहले भने ।
धान मिलमा समेत स्थानीय चामल आउन छाडेको व्यापारी साह बताउँछन् । साह आफैले सन्चालन गर्दै आएको मिलसमेत बन्द गरी चामलको थोक तथा खुद्रा विक्रेताका रुपमा ट्रेडर्स सन्चालन गरिरहेको बताउँछन् । स्थानीय धानका जातको विक्री वितरणमा कमी आएपछि मिल नै बन्द गर्नुपरेको उनको भनाइ छ ।
पानवारी आसपासका बस्तीहरु केराबारी, डागी, याङ्सिलालगायतका बस्तीमा उत्पादन हुने धान व्यापारी साहले मिलमा लाने गरेको अनुभव सुनाउँछन् ।

प्रकाशित मिति: मंसिर ११ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend