Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा कुन पार्टीको सरकार बन्ला ?

हाम्रो कोशी आवाज
मंसिर १३ २०७९, मंगलबार
प्रदेश १ मा कुन पार्टीको सरकार बन्ला ?

मत परिणाम आउने क्रम अन्तिम चरणमा पुग्दा प्रदेश- १ मा सरकार गठनको चर्चा सुरु भएको छ। यो प्रदेशमा नेकपा एमाले पहिलो पार्टी बनेको छ। उसले प्रत्यक्षतर्फ २४ सिट जितिसकेको छ भने १ सिटमा अग्रता लिएको छ।
१५ स्थानमा जित र ३ मा अग्रता लिँदै नेपाली कांग्रेस प्रदेश- १ को दोस्रो ठूलो दल बनेको छ भने ९ क्षेत्रमा जित निकालेको माओवादी केन्द्र तेस्रो पार्टी बनेको छ। यस्तै, २ क्षेत्रमा जित र १ क्षेत्रमा अग्रतासहित एकीकृत समाजवादी चौथो र २ क्षेत्रमा जित निकालेको राप्रपा पाँचौं स्थानमा छ।
प्रदेश सभामा कुल ९३ सांसदमध्ये ५६ सांसद प्रत्यक्षतर्फ निर्वाचित हुने र ३७ सांसद समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा कुल ५६ मध्ये आइतबार साँझसम्म ५१ क्षेत्रको नतिजा आइसकेको छ भने ५ स्थानको अन्तिम नतिजा आउन बाँकी छ।
समानुपातिकमा कुन दललाई कति मत ?
सोमबार मध्याह्नसम्मको मतगणना अनुसार प्रदेश- १ मा नेकपा एमाले ५ लाख ७६ हजार ३३९ मत सहित पहिलो, ४ लाख ८६ हजार ३९८ मत सहित कांग्रेस दोस्रो, १ लाख ७७ हजार ३०९ मत सहित राप्रपा तेस्रो, १ लाख ६२ हजार २१५ मत सहित माओवादी केन्द्र चौथो, ५४ हजार १ सय सहित जसपा पाँचौं र ५० हजार २९० सहित एकीकृत समाजवादी छैटौं स्थानमा छन्।
उक्त मतलाई विश्लेषण गर्ने हो भने एमालेले समानुपातिकतर्फ कुल ३७ सांसद मध्ये १२ देखि १४ पाउने देखिन्छ। प्रत्यक्षतर्फ प्राप्त सिटसहित एमाले ४० वरिपरिको सांसद संख्या सहित ठूलो पार्टी बन्ने देखिन्छ।
समानुपातिकमा कांग्रेसले ८ देखि १० सिट, माअ‍ोवादी केन्द्र र राप्रपाले समान ४-४ सिट पाउने देखिन्छ भने जसपाले २ र एकीकृत समाजवादीले १ सिट पाउन सक्छन्।
समग्र प्रणालीबाट प्राप्त सिट संख्यालाई योग गर्ने हो भने प्रदेश सभामा कांग्रेसका २७ सांसद, माओवादीका १४ सांसद, राप्रपाको ६ सांसद, एकीकृत समाजवादीका ४ देखि ५ र जसपाका २ सांसद हुन सक्ने आंकलन गर्न सकिन्छ।
कुन पार्टीको सरकार बन्ला ?
उल्लेखित सांसद संख्यालाई हेर्ने हो भने प्रदेश- १ मा गठबन्धन सरकार बन्नेछ। तर मंसिर ४ मा सम्पन्न निर्वाचनमा बनेको वर्तमान सत्ता-गठबन्धलाई ४७ सांसद सहितको आवश्यक बहुमत पुर्याउन निकै कठिन देखिन्छ।
यता, एमाले नेतृत्वमा राप्रपा र जसपा गठबन्धन कायम रहेमा भने झिनो बहुमत भने पुग्ने देखिन्छ। यसकारण प्रदेश- १ मा एमाले नेतृत्वमा सरकार गठन हुने सम्भावना देखिन्छ।
को बन्ला मुख्यमन्त्री ?
यो प्रदेशमा वर्तमान सत्ता-गठबन्धनबाटै सरकार बन्ने अवस्था आए एकीकृत समाजवादीले दावी गरेमा वर्तमान मुख्यमन्त्री तथा भोजपुर १(क) बाट निर्वाचित सांसद राजेन्द्रकुमार राई मुख्यमन्त्री हुन सक्छन्। तर यो झिनो सम्भावना छ।
त्यस्तै माओवादी केन्द्रले दावी गरेमा यो प्रदेशका वर्तमान मन्त्री तथा पाँचथर १(ख) बाट निर्वाचित ईन्द्रबहादुर आङ्वोको सम्भावना रहन्छ। यस्तै, मोरङ ६(१) बाट निर्वाचित जीवन आचार्यलाई पनि माओवादी केन्द्रले अघि बढाउन सक्छ। आचार्यको माओवादी नेतृत्वसँगको पारिवारिक सम्बन्धले काम गर्न सक्छ। तर यो पनि त्यत्तिकै झिनो सम्भावना हो।
यो प्रदेशमा वर्तमान सत्ता-गठबन्धनबाट कांग्रेसले नै प्रबल रुपमा मुख्यमन्त्रीमा दावी गर्न सक्छ। त्यस्तो अवस्था आए पार्टी केन्द्रीय सदस्य तथा मोरङ ५(ख) बाट निर्वाचित सांसद अमृतकुमार अर्याल मुख्यमन्त्री बन्ने सम्भावना छ।
त्यसो त मोरङ ४(ख) बाट निर्वाचित भीम पराजुली पनि मुख्यमन्त्री दावी गर्न सक्छन्। पार्टीको केन्द्रीय सदस्य समेत रहेका पराजुली विराटनगर महानगरपालिकाका पूर्व मेयर हुन्। पराजुली मुख्यमन्त्री दावी गर्दै निर्वाचनमा होमिएका थिए।
यस्तै, कांग्रेस प्रदेश- १ का सभापति उद्धव थापा पनि मुख्यमन्त्रीको ‘रेस’ मा छन्। यद्यपि, थापा समानुपातिक सूचीमा छन्। यता, नेकपा एमालेबाट मुख्यमन्त्री बन्ने अवस्था आए सुनसरी २(क) बाट निर्वाचित रेवतीरमण भण्डारी, झापा ५(क) बाट निर्वाचित पार्टी स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की, ताप्लेजुङ (क) बाट निर्वाचित पोलिटब्यूरो सदस्य तिलकुमार म्यानेङ्वो मुख्यमन्त्री बन्ने सम्भावना देखिन्छ। प्रतिनिधि सभाको लागि अन्तिम अवस्थासम्म दावी गरेका उनले पार्टी सचिव योगेशकुमार भट्टराईलाई छोडेर प्रदेशको मुख्यमन्त्री बन्ने आश्वासनमा प्रदेशमा प्रतिस्पर्धा गरेका हुन्। तर अध्यक्ष ओलीले आफ्नै क्षेत्रका कार्कीलाई अघि बढाउने आवश्यकता ठान्न सक्छन्।
त्यसो त, समानुपातिकबाट दलहरुले पठाउने सांसदहरु र आसन्न राजनीतिक समीकरणले पनि मुख्यमन्त्रीमा उल्लेखित अनुहार बाहेक नयाँ अनुहार पनि आउन सक्ने सम्भावना भने जीवितै छ। –ईश्वर बराल

प्रकाशित मिति: मंसिर १३ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend