Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लिम्बू समुदायको चाड चासोक तङ्नाम

हाम्रो कोशी आवाज
मंसिर २२ २०७९, बिहिबार
लिम्बू समुदायको चाड चासोक तङ्नाम

लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम। चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ। उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ। चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ। चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ। लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन्। किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ।

लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनु अघि लिम्बूका आदिम पुर्खा सावा येत्हाङले कन्दमुल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे। यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रार्थना गर्दथे। यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारमाङदःक (कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराइदिए।

यसरी धान र अन्नका बीउबिजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर बीउबिजन रोपी छरी अन्न फलाइन्। यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरु (देवीदेवता)लाई चडाउने प्रचलन बसाले, यसैलाई चासोक (न्वागी) पूजा भनियो।

मनुष्यलाई खेतीपाती सिकाउने देवीका रुपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन्। यीनै कथनअनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ। आफूले लगाएको बालीनाली पाकेपछि माङहरुलाई चढाएपछि खाने र रमाउने चाडको रुपमा लिइएको पाइन्छ। सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान (तङसिङ) पनि गर्ने गरिन्छ।

आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धताउने, बौउलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने) जस्ता भयवह रोगव्याधिले दुःख पाइन्ने लिम्बू जातिमा विश्वास रहिआएको छ।

यतिबेला लिम्बू समुदाय बसोबास रहेको माथिल्लो पहाडी क्षेत्रको बारी नै भरि पैँयु फुलेको छ। यसरी पैँयु फुलेको समयलाई लिम्बूहरूले उधौली याम (दक्षिणायन) सुरु भएको सङ्केतको रुपमा मान्छन्। उधौली सुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लाग्दछ। खास गरेर जाडो छेक्नलाई यसो गरिएको हो भन्ने गरिन्छ।

यही समयमा हिमाली भागमा हिँउ पर्ने भएकाले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठ पनि तल बस्तीतिर झारिने गरिन्छ, जसलाई उद्यौली झारिएको भन्ने गरिन्छ। यिनै गाईगोठलाई हिउँदोभरी खेतबारीमा मलजल गराई पुनः बैशाख महिनामा उकालो लगिइन्छ, जसलाई उभौली भन्ने गरिन्छ।

जुन समयमा खेतबारीमा अन्न लगाउने समय भएको हुन्छ। प्रकृतिक पूजक लिम्बूहरूले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवतासँग प्रार्थना गर्ने गर्छ। जसलाई यक्वा पूजा (उभौली पूजा) भन्ने गरिन्छ। र, यिनै देवीदेवताको आर्शिवादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिन्छ।

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली सुरु भएको छ। चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चडाएर पूजाअर्चना गरी खाने चलन छ। यो पर्व प्रत्येक वर्ष संसारभरी छरिएर रहेका भूमिपुत्र भेला भएर विशेष पूजाअर्चना गरी मनाउने गरेका छन्।

यस पर्वको अवसरमा नेपाल, भारत, हङकङ, संयुक्त अधिराज्य, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिकालगायत मुलुकमा रहेका लिम्बू समुदायले जातीय वेषभूषासहित सांस्कृतिक कार्यक्रम गरी चासोक तङनाम मनाउँछन्।

राजधानी काठमाडौंसहित पूर्वी नेपालको सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लामा रहेका लिम्बू बस्तीमा विभिन्न कार्यक्रम गरी चासोक मनाउने गरिन्छ। सोही अवसरमा लेटाङ याक्थुङ चुम्लुङले प्रत्येक वर्ष चासोक तङ्नामको अवसर पारेर शुभकामना आदनप्रदान गर्दै आएको छ।

प्रकाशित मिति: मंसिर २२ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend