धरानः पर्यटकीय भेडेटारमा यस वर्ष १० औं फेस्टिबल आयोजना हुने भएको छ ।
अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पुस १६ गतेदेखि १८ गतेसम्म तीनदिन फेस्टिबल आयोजना गर्न लागिएको होटल एशोसिएन भेडेटारले जनाएको छ । होटल एशोसिएसफन अफ भेडेटारकी कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले भनिन्, ‘फेस्टिबलले पर्यटन, होटल व्यवसाय, व्यापार, कृषि, संस्कृति र शिक्षा क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास पनि छ ।
फेस्टिबलमा स्थानीय जातीय खानेकुरा (राई, लिम्बू, मगर, तामाङ र नेवारी) प्रदर्शन गरिने सचिव तुमराज लिम्बूले जानकारी दिए । उनले स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेले उत्पादनको प्रदर्शनी, मौलिक परम्परागत सांस्कृतिक झाँकी पस्किने कार्यक्रम रहेको उनले जानकारी दिइन् ।
फेस्टिबल अवधिमा २० देखि ३० हजार पर्यटक भित्रयाउने लक्ष्य राखिएको उनले जानकारी दिइन् । फेस्टिबलको मुख्य आकर्षण पर्यटकीयस्थलहरुमा चाल्स भ्यू टावर, पाथिभरा मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, नाम्जेको थुम्कीस्थित आत्माघर, सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरीगढी, नाम्जेको होमस्टे, डाँडाबजारस्थित ध्वेजे डाँडा, ओख्रे टावरलगायत स्थलहरु रहने जनाइएको छ । फेस्टिबल अवधिमा मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम पनि आयोजना हुने आयोजकले जानकारी दिएको छ । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले गाउँपालिकाले पनि पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने बचन दिए ।