Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भेडेटारमा पर्यटक भित्रयाउन खाना महोत्सव

हाम्रो कोशी आवाज
पुष १६ २०७९, शनिबार
भेडेटारमा पर्यटक भित्रयाउन खाना महोत्सव

धरानः अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागतमा रमाउन आउने आन्तरिक तथा बाहय पर्यटकहरुलाई थप आकर्षित गर्ने र बसाई लम्ब्याउने उद्देश्यले पर्यटकीय गन्तव्यस्थलको रूपमा चिनिएको धनकुटाको भेडेटारमा १० औं फुड फेस्टिबल शुरु भएको छ । शनिबारदेखि भेडेटारमा तीनदिने (१८ गतेसम्म) फुड फेष्टिबल शुरु भएको हो ।
होटल एशोसिएसन भेडेटारले अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरेको १० औं फुड फेष्टिबलको उदघाटन प्रदेश १ का सांसद मिलन राईले गरेका छन् । होटल एशोसियसनकी कार्यवाहक अध्यक्ष शान्ति मादेन श्रेष्ठले करिब २० लाखको लगानीमा फुड फेस्टिबल आयोजना गरिएको जानकारी दिइन् । महोत्सव अवधिमा डेढ करोड रुपैयाँसम्मको कारोबार गर्ने लक्ष्य लिइएको समेत उनले जानकारी दिइन् । कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्ने उद्देश्यकासाथ फुड फेस्टिबल आयोजना भएको पनि उनले जानकारी दिइन् । फेस्टिबलमा ३० हजार आन्तरिक तथा वाहय पर्यटक भित्रयाउने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।
साँगुरीगढी गाउँपालिकाको सहयोगमा सो फेस्टिबल आयोजना भएको हो । पूर्वको पर्यटकीय गनतव्यका रुपमा रहेको भेडेटारमा आयोजित फुड फेस्टिबल विशेषगरी भारतीय पर्यटक लक्षित गरी आयोजना गरिएको छ ।

फेस्टिबलमा स्थानीय जातीय (राई, लिम्बू, मगर, तामाङ र नेवारी) खानेकुराहरु प्रदर्शन गरिने आयोजकले जनाएको छ । यस्तै, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी रहनेछ । फेस्टिबलमा सांस्कृतिक कार्यक्रमसँगै भेडेटार हेली टुर, जीपलाइन तथा प्याराग्लाइडिङ सेवा उपलब्ध रहने सांगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।
फेस्टिबलको मुख्य आकर्षण पर्यटकीयस्थलहरुमा चाल्स भ्यू टावर, पाथिभरा मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, नाम्जेको थुम्कीस्थित आत्माघर, सूर्योदय बौद्ध पार्क, सिम्सुवा झरना, ऐतिहासिक साँगुरीगढी, नाम्जेको होमस्टे, डाँडाबजारस्थित ध्वेजे डाँडा, ओख्रे टावरलगायत स्थलहरु रहने जनाइएको छ । फेस्टिबल अवधिमा मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम पनि आयोजना हुने आयोजकले जानकारी दिएको छ । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष रुम्दालीले पर्यटक भित्रयाउन पहिलादेखि आफूहरु लागिपरेको बताउँदै यसपटक पनि गाउँपालिकाले थप भूमिका खेलेको बताए ।

प्रकाशित मिति: पुष १६ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend