विराटनगरः पहिलो कार्यालयमा टुंगो लाग्न नसकेको प्रदेश १ को नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघीयता विरोधीरलाई जवाफ दिनुपर्नेमा नयाँ निर्वाचित प्रदेश सांसदहरुले जोड दिएका छन् ।
नवनिर्वाचित सांसदहरुलाई पुसन १५ र १६ गते प्रदान गरेको दुईदिने अभिमुखीकरणको समापन कार्यक्रममा बोल्दै सांसदरुले प्रदेशको नामाकरण चाँडै सर्वसम्मत रुपले गरेर संघियता विरोधीहरुलाई जवाफ दिनुपर्नेमा जोड दिएका हुन् ।
प्रदेशको नामाकरणसँगै पाँच वर्षसम्म पार्टी अनि सत्ता र प्रतिपक्षको विभेदकारी व्यवहारकाट मुक्त भएर सबै दलहरुले सहकार्य गरेमात्र प्रदेश संरचना विकासको अधिकारका लागि आवश्यक छ भन्ने औचित्य पुष्टि हुने दोस्रो कार्यकालका लागि निर्वाचित सांसदहरुको भनाई छ ।
समापन कार्यक्रमा बोल्दै सबैभन्दा ठूलो दल नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारीले प्रदेश भडकिलो र खर्चिलो भयो यसको काम छैन खारेज गर्नुपर्छ भन्ने प्रश्नहरु उठन थालेकोले त्यसलाई गलत बनाउन अबको पाँच वर्ष सबै दलहरुले आपसी समन्वय गरेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । उनले राजनैतिक पार्टीहरु सत्ता र प्रतिपक्षको विभेदबाट मुक्त भएर एकताको भावनाले काम गर्न सके पाँच वर्षमा प्रदेशसभा विकासका लागि आवश्यक छ भन्ने सहजै पृष्टि दाबी गरे । नेता राजभण्डारीले पहिलो कार्यकालमा प्रदेशले नाम पाउन नसक्दा पनि संघियता विरोधी प्रश्नहरु उठेकोले अब सबै दलहरुले सहमती बनाएर प्रदेशको नामाकरण चाँडै गर्नुपर्नेमा जोड दिए । नेता राजभण्डारीले भने, ‘हामीले सहमती बनाएर तुरुन्तै प्रदेशको नाम राखेनौ भने प्रदेशको काम छैन खारेज गरौ भन्नेहरुलाई बल पुग्छ यसैले पहिले सर्वसम्मतले प्रदेशको नामाकरण गरौं ।’
काँग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रादेशिक संरचना गलत हैन सही हो भन्ने कुरा प्रदेश सभा र सरकारले व्यवहारबाट पृष्टि गर्नुपर्ने चुनौती थपिएकोेले चनाखो भएर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । नेता थापाले प्रभावकारी कानुन बनाउन र बनेका कानुनहरु कार्यान्वयन गराउँदै सरकारको निगरानी गर्न सकेमा प्रदेशमा विकासले फडको मार्ने र संघीयता गलत हो भन्नेहरुको प्रश्न आफै गलत साबित हुने बताए । नेता थापाले पनि सर्वसम्मत रुपमा प्रदेशको नामाकरण गर्ने दायित्व थपिएकोले चाँडै पुरा गर्नुपर्नेमा जोड दिए । उनले प्रादेशिक संरचनालाई दिगो बनाउन सातवटै प्रदेशको सम्बन्ध प्रगाढ बनाउनुपर्छ भने ।
माओवादी केन्द्रका नेता दुर्गा चापागाँईले निर्वाचित भएका सबै दलका सांसदहरुले पाँच वर्ष चनाखो भएर काम गर्नसके प्रदेश गलत हो भन्नेहरु आफै गलत साबित हुने बताए । उनले भने, ‘हाम्रो मुख्य चुनौती नै प्रदेशको औचित्य सार्थक बनाउने हो यसैले हामीले फुटेर हैन जुटेर काम गर्नुपर्छ ।’
राप्रपा संसदिय दलका नेता भक्तिप्रसाद सिटौला एकीकृत समाजवादीका नेता कमलप्रसाद जबेगु र जनता समाजवादीकी निर्मला लिम्बूले विकासका लागि सबै दलहरु एक हुनुको विकल्प नभएको भन्दै आगामी पाँच वर्ष इमान्दार र पारदर्शी ढंगले काम गर्ने बताए ।
नयाँ निर्वाचित ९३ जना सांसदहरुलाई विराटनगरमा भेला गरी प्रदेश १ सभाले १५ र १६ पुसमा अभिमुखीकरण गराएको थियो । अभिमुखिकरणमा संविधानविद डा विपिन अधिकारीले संघीयतामा प्रदेश सभा र सांसदहरुको भूमिका, कानुन निर्माण गर्ने तरिका अनि विषयत समिति निर्माण र निगरानीमा उनीहरुको अधिकारबारे प्रस्ट पारेका थिए । यसैगरी प्रतिनिधिसभाका पूर्व सचिव मुकुन्द आचार्यले प्रदेशसभा सञ्चालन र व्यवस्थापनको प्रक्रिया र मर्यादाका लागि पालना गर्नुपर्ने आचारणहरुका बारे बुझाएका थिए ।
यस्तै, पूर्व महालेखा प्र्रम्ख सुरेश प्रधानले सार्वजनिक वित्त व्यवस्थापन, बजेट कार्यान्वयन र निगरानी अनि लेखा परीक्षणबारे जानकारी गराएका थिए । संसदीय पत्रकार मञ्च प्रदेश १ का अध्यक्ष गणेश लम्सालले संसदको खुलापन बढाउँदै आम नागरिकहरुको पक्षमा धेरै काम गर्न सांसद, सचिवालय र पत्रकाहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।