धरानः धरान-१ स्थित धरान मोडेल कलेजमा खेल सप्ताह ०७९ को शुरुवात भएको छ ।
विद्यार्थीको शारीरिक, बौद्धिक एवं मानसिक विकास गराउनको लागि वर्षेनी सप्ताहव्यापी विभिन्न खेल एवं सिर्जनात्मक कार्यक्रमहरू आयोजना भइरहेको कलेजले जनाएको छ ।
पुस २९ गतेसम्म आयोजना हुने खेल सप्ताहको उद्घाटन धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले गरेका छन् । खेल सप्ताहको उद्घाटन गर्दै उपप्रमुख बेघाले धरान खेलकुदको सहर भएको बताउँदै दौडेर, फुटबल, भलिबल, बास्केटबल आदि खेल खेलेर धरानको पहिचानलाई स्थापित गर्न सफल भएको बताए । ‘अहिले धरान मोडल कलेजले पनि खेलकुदको सहर धरानलँई स्थापित गर्न सफल बनेको छ, खुशी लागेको छ,’ उनले थपे, ‘धरान दौडिन्छ भन्ने म्यासेज पनि गएको छ ।’
कलेजका प्रिन्सिपल प्रविन राईले खेलकुद क्षेत्रले विद्यार्थीलाई अनुशासनमा राख्न खेलकुदले मद्दत पुरयाउने हुनाले पनि यस्तो कार्यक्रम आयोजना गरिएको बताए । ‘खेलकुदले भातृत्वको विकास गराउँछ, अनुशासनमा बस्न सिकाउँछ’, उनले भने, ‘त्यही भएर वर्षेनी यस्ता रचनात्मक कार्यक्रम गर्दै आएका छौं ।’ उनले विद्यार्थीहरुको बौद्धिक, शारीरिक विकास हुने भएकोले कलेजले अतिरिक्त क्रियाकलापमा पनि जोड दिएको बताए ।
उनले यसपटक विद्यार्थीलाई सामाजिक उत्तरदायित्वको भावना जगाउन रक्तदान र मन्दिर सरसफाइ कार्यक्रम पनि राखिएको जानकारी दिए । क्याम्पसका बिएसडब्लयु कोअर्डिनेटर विष्णु खनालले कलेजले स्थापनाकालदेखि नै विद्यार्थीहरुको शारीरिक, बौद्धिक र सिर्जनात्मक पक्षलाई उजागर गर्न खेलकुद सप्ताह गराउँदै आएको बताए । उनले सप्ताहअवधिभर हाजिरीजवाफ, फुटसल, चेस, टेबलटेनिस, ब्याडमिन्टन, क्यारेम, चाइनिज चेकर, फुटबललगायतका खेलहरु हुने संयोजक समेत रहेका उनले जानकारी दिए । अन्तिमदिन रक्तदान कार्यक्रमसँगै खेल सप्ताहको समापन हुने कलेजले जनाएको छ । कार्यक्रममा धरान रनका संयोजक रमु राई, ट्राफिक प्रहरीका असई नारद प्रसाद दाहाल, कलेजका प्राचार्य प्रविन राई, प्राध्यापक, समाजसेवी, पत्रकार, विद्यार्थी, सुरक्षा प्रमुख प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कलेजका प्राध्यापक एवम् दौड प्रतियोगिताका संयोजक भवानी शंकर भट्टराईले गरेका थिए ।
दौडमा जसले जिते
खेल सप्ताहको उद्घाटनसँगै भएको मिनी म्याराथन सम्पन्न भएको छ । धरानको भानुचोकबाट शुरु भएको प्रतियोगितामा छात्रहरु पुरानो बजार, लक्ष्मीचोक, धरान–१६ जनपथ, चतरालाइन हुँदै छाताचोकसम्म दौडिएका थिए । यस्तै, छात्राहरु सोही रुट हुँदै स्वामीचोकसम्म दौडिएका थिए ।
प्रतियोगितामा छात्रतर्फ पर्वत राईले १९ मिनेटः४२ सेकेण्डमा दुरी पार गर्दै पहिलो बनेका थिए भने १९ मिनेट ४५ सेकेण्डमा दुरी पार गर्दै साङ्गे शेर्पा दोस्रो बने । यस्तै, २० मिनेट १ सेकेण्डमा दुरी पार गर्दै छविलाल बुढाथोकीले तेस्रो स्थान हात पारेका थिए ।
यस्तै, छात्रातर्फ सिर्जना राईले १५ मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै प्रथम बनिन् भने १६ मिनेटमा दुरी पार गर्दै अस्मिता राई द्वितीय बन्न् सफल भइन् । यस्तै, स्वस्तिका खड्काले १६ मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै तृतीय बनेकी थिइन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

















