धनकुटा: धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ६ सिधुवा बजारमा आगलागी भइरहेको छ।
आगो निभाउन स्थानीय लागिपरेका छन्। आगलागी नियन्त्रण बाहिर रहेको र धनकुटा नगरपालिकाका साथै लालीगुराँश नगरपालिकाका दमकल मगाइएको छथर जोरपाटी वडा नं ६ का अध्यक्ष दिपक गुरुङले बताए। उनले दमकल आउँदै गरेको जानकारी पाएको बताए ।
आगलागीबाट ३ घर जलेर पूरै क्षति भएको र बजारका अन्य घर जोखिममा रहेको उनले बताए। बस्तीको बीचमा आगलागी भएकाले आगो फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको भए पनि ग्यास सिलिन्डर पड्केका कारण समस्या भएको उनले बताए ।
दमकल आएपछि मात्रै आगलागी नियन्त्रण गर्न सकिन्छ कि भनेर आशा गर्नुबाहेक अरु उपाय नरहेको उनले बताए। आगलागीको कारण खुल्न सकेको छैन ।