बराहक्षेत्र नगरपालिकाको वडा न २ मा बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि विचार समूह निर्माण गरिएको छ । विचार समूहले भवन निर्माणका लागि जग्गा प्राप्ति र सरकारबाट आवश्यक बजेट उपलब्धताका लागि पहल गर्ने छ ।
मेसेन्जर समूह निर्माण गरी बहुउद्देश्यीय भवनका लागि प्रस्ताव अघि बढाइएको छ । समूहमा वराहक्षेत्रका समाजसेवी, बुद्धिजीवी, युवा, सन्चारकर्मी र अभियानकर्मीहरुको सहभागिता छ ।
‘हाम्रो वडा नं -२ मा केही सयको संख्यामा भेला भएर कुनै छलफल, मिटिङ, योगा, प्रशिक्षण, इन्डोर गेम र धार्मिक, सामाजिक कार्य गर्ने भवन छैन,’ विचार समूहका सयोजक युवराज भट्टराईले भने, ‘छिमेकी नगरपालिका र हाम्रै नगरका अन्य वडामा त्यस्ता भवनहरु निर्माण भएर संचालन भइसकेका छन्, त्यसैले हाम्रो वडा क्षेत्रभित्र पनि बहुउद्देश्यीय भवन बन्नुपर्छ भनेर पहलका विचार समूह निर्माण गरेका हौं ।’
पर्यटकीय क्षेत्र र त्यसमा पनि नगरको शहरोन्मुख व्यस्त बजार रहेको क्षेत्र हो वडा २ । बाक्लो बस्ती र मुख्य व्यापारिक स्थान भएकाले पनि खेलकुद र पर्यटनको विकासका लागि पनि वडा २ मा बहुउद्देश्यीय भवन आवश्यक छ ।
वडा र नगरको बजेट बहुउद्देश्यीय भवन निर्माणको लागि पर्याप्त हुन नसके प्रदेश सरकार र सङ्घमा समेत जनप्रतिनिधिमार्फत प्रस्ताव लान आवश्यक रहेको विचार समूहका सदस्य रोहित साहले बताए ।
बहुउद्देश्यीय भवन निर्माणका लागि वडाका जनप्रतिनिधिहरुसँग अनौपचारिक छलफल भइरहेको विचार समूहका सम्योजक युवराज भट्टराईले बताए । उनले औपचारिक रुपमा भेला बोलाएर वडामार्फत स्थानीय सरकारमा प्रस्ताव लाने र नगर कार्यपालिकामार्फत प्रदेश सरकारमा जाने वातावरण तयार गर्ने बताए ।