धरानः धरानको छाताचोक–चतरालाइन–स्वस्तिक सडक फराकिलो र व्यवस्थित बन्ने भएको छ ।
धरान–१२ का वडाध्यक्ष टंकबहादुर राईका अनुसार ५० फुटको मापदण्ड कायम गरी फराकिलो बनाउने विषयमा केही स्थानीयबासीबाहेक अधिकांश स्थानीयले साथ दिएका छन् । मंगलबारे–स्वस्तिकचोक सडक जुन रुपमा फराकिलो बनेको छ, सोहीअनुसार ट्राफिक जाम नभई छाताचोकसम्म पुग्दा सहज हुने देखेर यो कार्यक्रम अघि बढाइएको उनले जानकारी दिए । ड्रेन, फुटपाथसमेत गरी ५० फुटको मापदण्ड कायम गरी फराकिलो सडक बनाइने उनले जानकारी दिए ।
उनले यसअघि पनि सोही सडकलाई फराकिलो बनाउने भनेर लागिपरेको तर त्यहाँको बजेट धरान–११ मा लगेर हालिएको तितो यथार्थ रहेको समेत बताए । ‘विशेषतः अधिकांशले सडक फराकिलो बनाउने विषयमा सहमति जनाइसकेपनि केहीले अवरोध गर्दै आएको पाइएको छ’, उनले भने, ‘बजार पनि विस्तार हुने, यो सडकको मुहार पनि फेरिने हुनाले राम्रो बनाउनतिर हाम्रो ध्यान गएको हो, २–४ जनाले बाधा विरोध गरेको पाइएको छ, उहाँहरुलाई पनि सहमतिमा ल्याउने प्रयास रहन्छ, यसपटक बजेट अर्को वडामा जान दिँदैनौं ।’
धरान उपमहानगरपालिकाका इन्जिनियर प्रशान्त अधिकारीका अनुसार सीमाङ्कनको काम थालिएको र त्यसपछि अन्य प्रक्रिया अघि बढ्ने बताए । केहीदिनअघिको बैठकले सहजीकरण समिति निर्माण भएको र सोही समितिको पहलमा सीमाङ्कनको काम थालिएको कार्यपालिका सदस्य अनुप देवानले जानकारी दिए ।
‘उपमहानगरपालिकाले केही छोड्नु भने म त छोड्छु,’ घरधनी नरेश ताम्राकारले भने, ‘उपमहानगरले सडक फराकिलो बनाउन गरेको निर्णय एकदमै सही छ, सबैले यो निर्णयको पालना गरेर सहयोग गर्ने हो भने यो सडक साँच्चै सुन्दर हुन्छ ।’ सडक क्षेत्राधिकार भित्रपर्ने अधिकांश स्थानीयले पनि सरकारी भौतिक संरचनामा सहयोग गर्नुपर्ने उनले बताए । ५० फिटको बनाउनु विकासको प्रतिक भएको उनले बताए । मुख्य सडकमा ट्राफिक जाम बढ्दै जाँदा हैरानी खेप्नु परिरहेको अवस्थामा घरधनी आफैले सहयोग गरे सबैलाई फाइदा पुग्ने र व्यवसाय पनि बढ्ने उनले बताए ।







