धरानः धनकुटाबाट धरानतर्फ आउँदै गरेको एक बसमा प्रहरीले ४० किलोग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–१ उखुडाँडास्थित कोशी लोकमार्गमा प्रहरी चौकी मूलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटाबाट धरानतर्फ आउँदै गरेको को. १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा राखेको झोलाबाट ४० किलोग्राम गाँजा बरामद गरेको हो ।
चेकजाँचकै क्रममा सोही बसमा सवार रहेका सहिदभूमी गाउँपालिका–१ धनकुटाका ३२ वर्षीय सुरज राईको साथबाट ४० ग्राम, र २२ वर्षीय सुरेश राईको साथबाट ६० ग्राम गाँजा बरामद भएको थियो । लागूऔषध गाँजा बरामद भएसँगै बस र बसका चालक सुन्दरहरैचा–५ मोरङका ५१ वर्षीय रुद्धबहादुर तामाङ, सहचालक सहिदभूमी गाउँपालिका–७ का ४३ वर्षीय फत्तेमान राई र चौबिसे गाउँपालिका–५ धनकुटा का २९ वर्षीय सुरेन्द्र देवान समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, विराटनगर–११ स्थित बसपार्कबाट ५० किलोग्राम गाँजासहित धनकुटा सहिदभूमि गाउँपालिका–४ का ४४ वर्षीय यज्ञप्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले साग र तेजपत्ताको तीन वटा बोरामा गाँजा लुकाई छिपाई ल्याएको अवस्थामा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।