ताप्लेजुङः मङ्सिरको अन्तिम हप्तादेखि माघको अन्त्यसम्म सेताम्मे देखिने ताप्लेजुङका हिमाल यस सिजनमा कालापत्थर बनेका छन् ।
यस वर्ष माघको दोस्रो हप्तासम्म हिमाली क्षेत्रमा हिउँ नपर्दा सेताम्मे हुने हिमालहरु नाङ्गा डाँडा जस्तै भएका छन् । फक्ताङलुङ गाउँपालिका–१ सवादिनका ६० वर्षीय विद्या खड्काले जीवनमा यस्तो साह्रै हिउँ नपरेर हिमाली डाडाँहरु नाङ्गिएको पहिलो पटक अनुभव गरेको बताए । हिमाल कालापत्थर बन्न थालेकामा रविकला माविका अवकाशप्राप्त प्रधानाध्यापक खड्का चिन्तित हुँदै यही अवस्था रहे हिमालको स्वरुप नै बदलिनेमा चिन्ता व्यक्त गरे ।
गएको वर्ष तीनदेखि चार फिटसम्म हिउँ परेको ताप्लेजुङका हिमाली गाउँहरुमा यतिबेला माघको दोेस्रो हप्तासम्म पनि हिउँ परेको छैन । गएको वर्ष सदरमुकाम नजिकै रहेको सुकेटरसम्म आएको हिमपात हिमाली गाउँहरु घुन्सा, याङ्मा तथा ओलाङचुङगोलामा समेत परेको छैन । पछिल्ला वर्षमा हिमपात हुने समय नै परिवर्तन भएको छ । पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने गरेको छ । गएको वर्ष मंसिरको अन्तिम हप्ता नै पहिलो पटक हिमपात भएपछि ताप्लेजुङको सुकेटर, पाथीभरा क्षेत्रमा हिउँ खेल्न जानेको भिड लागेको थियो ।
हिमपात नभएकै कारण देशको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थ यात्रीहरु आइरहेको पाथीभरा फेदी होटल व्यवसायी महासंघका अध्यक्ष इन्द्रनारायण भट्टराईले बताए ।
अहिले समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल पहाडजस्ता देखिन थालेको र जङ्गली फूलमासमेत त्यसको प्रभाव देखिएको कञ्चनजंघा संरक्षण क्षेत्रका अध्यक्ष खगेन्द्र फेम्बुले बताए । हिउँ नपरेकाले आलु, गहुँ, फापर साथै हिमाली क्षेत्रमा पाइने जडीबुटीलाई समेत असर परेको स्थानीय हिमाली क्षेत्रका बासिन्दाहरु बताउँछन् ।