धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई चुनावमा उठ्नुअघि पानीकै कुरा गरिरहन्थे, चुनावमा पनि पानीकै एजेन्डा उठाए, चुनाव जितेर काम गर्ने ठाउँमा आउँदा पनि पानीकै कुरा गर्दै पानीकै लागि मरिहत्ते गर्दै दौडधुपमा छन् ।
धरानमा खानेपानीको समस्या पुरानै हो । समाधान गर्ने भन्दै धेरै राजनीतिक दलका नेताले भाषण छाँटेर निर्वाचन पनि जितेपनि तर दीर्घकालीन समाधान गर्न कहिल्यै चासो नदिएको कारण मुद्दालाई आफ्नो मूल एजेन्डाका उनले चुनाव जितेका हुन् । चुनाव जित्नुअघि उनी भन्ने गर्दथे– पानीसमेत खुवाउन नसक्नेहरुले के राजनीति गर्नु ?, त्यही भएर मलाई जिताउनुहोस्, म पानी जसरी पनि खुवाउँछु । अहिले मेयर भइसकेपछि उनी स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा पूरा गर्ने ध्याउन्नमा छन् ।
मेयर निर्वाचित भएलगत्तै बाचा पूरा गर्न कस्सिएका मेयर साम्पाङले अन्ततः धरानकै पकुवा, सर्दु, खर्दु, निशाने खोला साथै भालुखोलाबाट पानी ल्याउन सफल भइसकेका छन् । विशेषतः वर्षायाममा तरहरानजिक रहेको पम्पबाट पानी तान्न नपरोस् र खर्च पनि बचत होस् भनेर आफूले यी प्रोजेक्टमा हात हालेको मेयर साम्पाङले बताउँदै आएका छन् ।
बेलाबेलामा कतिपय धरानेले ‘पानी खुवाउँछु’ भनेर भन्ने मेयर अन्यत्रकै काममा भुलेको समेत आरोप लगाउँदै आएका छन् । तर उनी पानीकै एजेन्डाले नै चुनाव जितेको हुनाले आफू जसरी हुन्छ पानी ल्याउने विषय प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँछन् ।
मङ्गलबार सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा पानी ल्याउन ‘स्पट’ पक्कापक्की गर्न प्रदेश सभा सदस्य रमेश बस्नेत साथै धरान उपमहानगरपालिकाका इन्जिनियरसहित पुगेका मेयर साम्पाङले दोहोरयाए– एडिबी परियोजना सफल भइदिएको भए साय म यो पदमा सेलेक्ट हुने थिइनँ होला ।
नेताहरु दुरदर्शी र दुरदृष्टि नलगाउँदा अहिले धरानेले दुःख पाइरहेको उनले बताए । उनले आफूले कोशीको पानी दीर्घकालको लागि ल्याउन लागेको बताए । उनी थप्छन्– म पाँच वर्षको लागि आएँ, पाँच वर्षको लागि मात्रै सोच्छु भनेर हुँदैन, मैले ५०–१०० वर्षको लागि सोच्ने हो । उनले ५०–१०० वर्षपछि धरानको जनसंख्या कहाँ पुग्छ ? त्यतिबेला कति पानी चाहिएला ? भनेर प्रश्न समेत गरे ।
खर्च कसले दिने ? भन्ने प्रश्नमा उनले राष्ट्रिय गौरवको आयोजनाका रुपमा यसलाई हेर्नुपर्ने उनको कथन छ । ‘यो राष्ट्रिय मुद्दा हो, यसलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेर्नुपर्छ, यसका लागि संघीय सरकार तात्नुपर्छ, उसले लगानी गर्नुपर्छ, यसको लागि धरानेहरुको पनि साथ र सपोर्ट रहनेछ ।’ उनले भने ।
कोशीको पानी ल्याउन अध्ययनको क्रम सकिएको र डिपिआरको क्रममा रहेको धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले जानकारी दिए । उनका अनुसार कोशीबाट पानी ल्याउँदा सतहभित्रको ‘सिपेज’ पानी ल्याइने र सफा पानी आउने दावी गरे । मङ्गलबार पानी ल्याउने स्थान र पानी पम्पिङ गरेर रिजर्भ गर्ने स्थानको पक्कापक्की गरेर फर्किएको थियो । धेरैपटक स्थलगत भ्रमणपछि कोशीको पुलदेखि करिब १ किलोमिटर तलबाट पानी पम्पिङ । बराहक्षेत्र–१ मा रहेको फूलबारी भन्ने स्थान रिजर्भका लागि ‘फिक्स’ गरिएको उनले जानकारी दिए ।
प्रदेश १ का सभा सदस्य रमेश बस्नेतले डिपिआर तयार भइसकेपछि सरकार गुहार्न आफूहरुले पनि सक्दो सहयोग गर्ने बताए ।
यसैबीच कोशीबाट फर्किएका मेयर साम्पाङले खानेपानी मन्त्रीलाई समेत धरानमा निम्तो दिएका छन् । उनले पत्र पनि केहीदिनभित्रमा पठाउने बताउँदै धरान आएपछि खानेपानी मन्त्रीलाई घुमाउने बताए । ‘यहाँ खानेपानीको समस्या शुरु भइसकेको छ’, उनले भने, ‘त्यही भएर यही बेलामा धरान आएर घुम्नुहोस् मन्त्री ज्यू, म घुमाउँछु अनि थाहा हुनेछ धरानको समस्याको बिकराल स्थिति ।’




कोशी नदीबाट पम्पिङ गरिएको पानी रिजर्भ गरेर धरान पठाउने स्थान

कोशी नदीबाट पम्पिङ गर्ने स्थान
