धरानः धरान–९ पुतलीलाइनमा अवस्थित डिमाण्डु ज्वाइँ खानाले किराती र नेवारी परिकार पस्किने भएको छ ।
ज्वाइँ साहेब, ज्वाइँ नारायण, ज्वाइँ राजा, ज्वाइँ महाराजा, ज्वाइँ महाराजा स्पेशल खाना र खाजा सेट पस्कँदै आएको ज्वाइँ खाना’ ले किराँती र नेवारी सांस्कृतिक परिकार पस्किने भएको हो ।
धरानमा ज्वाइँ खानाका नामले परिचित खाना घरमा स्थानीय मौलिक र सांस्कृतिक परिकारलाई मेनुमा समावेश गरी सर्व गर्ने जानकारी गराएको छ । अब मेनुमा पारखीले ज्वाइँ खानामा वाचिप्पा, याङ्बेनदेखि स्यफुम्हिचा र चटामरीसम्मको स्वाद लिन सक्नेछन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै डिमाण्डुले राई, लिम्बू र नेवार जातिका विभिन्न परिकार पस्कने जानकारी गराएको हो । परिकारहरुमा किरातीको सेरगेम्वा, वाचिप्पा, मेखे, किनिमा, याङ्बेन–फाक्सा, रहेका छन् । त्यस्तै नेवारी परिकारमा स्यफू, म्हिचा, चटामरी, यमरी, छोइला, र मोलेको सुकुटी रहेका छन् ।
‘अन्य जातीय परिकारहरु पनि बिस्तारै मेनुमा समावेश गरिँदै लगिने छ,’ सञ्चालक हरि श्रेष्ठले पत्रकार सम्मेलन गर्दै भने, ‘यसले ज्वाइँ खानालाई परम्परागत नेपाली परिकार पाइने भोजन गृहका रुपमा स्थापित हुने विश्वास लिएका छौं ।’
घरमा पकाएको अर्गानिक शैलीको परम्परागत जातीय सांस्कृतिक एवम मौलिक परिकारहरुलाई स्वस्थकर, स्वच्छ र स्तरीय रुपमा पस्कने सञ्चालक श्रेष्ठले बताए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष जनकऋषि राईले ज्वाइँ खानाले सांस्कृतिक परिकार पस्किनु गौरवको विषय भएको बताए ।
