धरानः इटहरी–धरान सडक विस्तार मुख्य बजारबाट नगर्न माग गर्दै धरानमा प्रदर्शन भएको छ ।
कोशी लोकमार्गअन्तर्गतको इटहरी–धरान सडक बाइपास गर्न माग गर्दै धरान उपमहानगरपालिका अगाडि प्रदर्शन भएको हो ।
६ लेन सडक प्रभावित बासिन्दाहरुले आइतबार दिउँसो प्रदर्शन गरेका हुन् । सडक प्रभावित जग्गाधनीहरुले करिब ११ सय घर जाने र सुकुम्बासी हुने भन्दै उपमहानगरको मूलगेट अघि ब्यानर र प्ले कार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
संघर्ष समितिका संयोजक निनामचन्द्र राईका अनुसार धरानको मुख्य बजार क्षेत्र भानुचोक हुँदै ६ लेन सडक विस्तार हुँदा लक्ष्मीचोक, जिरोप्वाइन्टसम्मका एक हजार भन्दा बढी घरमा भत्काउनुपर्ने अवस्था आएको र बाइपास हुनुपर्ने माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको जानकारी दिए ।
निर्माणाधीन जोगवनी–किमाथाङ्का ६ लेनको लोकमार्गलाई धरान बजारबाट लैजाँदा जनताको ठूलो क्षति हुने भएकोले तीनकुनेबाट बाइपास गर्नुपर्ने जनाइएको छ । बजार क्षेत्रको सडकको उपयुक्त स्तरोन्नतिमात्रै गर्न माग समेत आफूहरुले पटक पटक भन्दै आएको उनले समितिका राईले जानकारी दिए ।
विशेषतः धरानको तीनकुनेदेखि जिरोप्वाइन्टसम्मको सडक बनाउने विषयमा अहिले अन्यौलता छ । चीन र भारत जोडिने सोझो ‘लिङ्क रोड’ का रुपमा लिइएको सो सडक धरानको तीनुकेनसम्म आइपुगेर अन्यौल बनेको हो । धरान–इटहरी सडक खण्डअन्तर्गत धरानको तीनकुनेसम्म हालपनि धमाधम काम भइरहेको छ तर तीनकुनेदेखि जिरोप्वाइन्टसम्मको सडक के हुने हो भन्नेबारेमा अहिलेसम्म अन्यौल नै रहेको हो ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले बाह्रौं नगरसभामा यथाशीघ्र कहँँबाट लैजाने भन्नेबारेमा टुङ्गो लगाइनुपर्ने धारणा राखे । उनले धरान उपमहानगरपालिकाले यसबारेमा छिट्टै सामूहिक छलफल डाकी निर्णय गर्ने बताए । ‘२०५ फिटकै बनाउन हामीले नमान्न सक्छौं, त्यसलाई कत्रो बनाउने भन्नेबारेमा धरान उपमहानगरपालिकाले पनि निर्णय लिनुपर्ने बेला आएको छ’, उनले भने ।
उनले आफ्नो व्यक्तिगत विचारमा ७२ फिटको बनाउन सकिने बताए । ‘मलाईचाहिँ लागेको मेरो व्यक्तिगत विचारमा ७२ फिटसम्मको हामीले बनाउन सकिन्छ भन्ने लाग्छ तर त्यो ७२ फिटसम्मको बनाइसकेपछि बाँकीको जग्गा रोक्का रहने कि नरहने त भन्ने कुरामा त्यहाँदेखि उताकोचाहिँ फुकुवा गरिदिनुपर्छ र त्यो फुकुवाको लागि हामी सबैले पहल गर्नुपर्छ, यो मेरो मनसाय हो ।’ उनले नगरसभामा भने । खासमा अहिले ६ लेन विस्तार गर्दा २०५ फिटको हुन आउँछ । त्यस्तै, अहिलेको बजारमा क्षेत्रमा ५० फिट मापदण्डको मात्रै छ । धरानदेखि पहाडी क्षेत्रमा जाँदा ६ सडक नबन्ने हुनाले धरान बजारदेखि नै ६ बनाउन नहुने केहीको तर्क समेत छ ।



