धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी कुरुवा बस्न पनि ५०० रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ।
प्रतिष्ठानको आकस्मिक कक्षमा बिरामी भर्ना गरिएसँगै ५०० रुपैयाँ धरौटी बुझाएर कुरुवा कार्ड लिनुपर्ने र त्यस्तो कार्ड प्रति बिरामी एक जनाले पाउने प्रतिष्ठानले जनाएको छ।
आइतबारबाट कुरुवा कार्ड लागू गरिएको छ। हाल परीक्षणका रूपमा आकस्मिक कक्षमा मात्र लागू गरिएको यो नियम बिस्तारै अन्य कक्षमा पनि लागू गर्ने प्रतिष्ठानको तयारी छ।
प्रतिष्ठानले आकस्मिक कक्षमा अत्यधिक भीडभाड हुने भएकाले त्यसलाई कम गर्न यस्तो नियम लागू गरिएको जनाएको छ। तर, बिरामीका आफन्तले भने कुरुवा कार्डको व्यवस्था उचित भएपनि ५०० रुपैयाँ धरौटीको व्यवस्था गलत भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिष्ठानले कुरुवा कार्ड निःशुल्क व्यवस्था गर्न सक्ने भए पनि बिरामीलाई झमेला थप्ने गरी धरौटीको व्यवस्था गरिनु ठीक नभएको बिरामीका आफन्तले बताएका छन्। कुरुवा बसेका विकास भुजेल भन्छन्, “आकस्मिक कक्ष भनेकै जटिल बिरामी ल्याइने ठाउँ हो, यस्ता बिरामीलाई एक जना होइन, दुई जनासम्म कुरुवा बस्न दिनुपर्छ। अनि कार्डमा धरौटीको व्यवस्था राखिनु हुँदैन।’’
प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक २०० भन्दा बढी बिरामी ल्याइने गरेको र उनीहरूसँगै आउने आफन्त र अन्य मान्छेको भीडले उपचारमा समस्या हुन थालेपछि कुरुवा कार्डको नियम लागू गरिएको प्रतिष्ठानका प्रवक्ता डा. अञ्जु प्रधानको भनाइ छ। बिरामी भर्नासँगै ५०० धरौटी बुझाएपछि पाइने कुरुवा कार्ड बिरामी डिस्चार्जका क्रममा फिर्ता गरेपछि धरौटी रकम पनि फिर्ता गरिने डा. प्रधानले बताइन् ।