धरानः धरान–१६ स्थित नापीशाखा कार्यालयको स्थानान्तरणको विरोधमा संघीय लिम्बुवान मञ्च नेपालले धरानस्थित मालपोत तथा नापी कार्यालयमा कालो झण्डासहित कोणसभा गरेको छ ।
धरान–१६ स्थित मालपोत कार्यालयको गेटअगाडि मञ्चले बिरोधस्वरुप कोणसभा आयोजना गरेको हो । जग्गादाता र भूमाफियाको मिलेमतोमा तत्कालस्न धरानका मालपोत तथा नापीका प्रमुखहरुलाई जग्गासहित लाभ दिएर मालपोत कार्यालय सार्ने षड्यन्त्र गरिएको आरोप सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष अमर इजमले लगाएका छन् । उनले जनप्रतिनिधि नभएका बेला कर्मचारीले मिलेमतोमा लाभ लिँदै वडा नम्बर–६ स्थित पानबारीमा सार्ने कुरा यो आधिकारिकता नभएको बताउँदै उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्नुपर्ने बताए ।
कालोझण्डासहितको कोणसभा आयोजना गर्दै सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्च र सङ्घीय लिम्बुवान मञ्चले खबरदारी गरेको जिल्ला अध्यक्ष इजमले जानकारी दिए । गत २०७३ सालमा मालपोत र नापी कार्यालय धरान ६ पानबारीमा सार्ने निर्णय भएको बेला तत्कालीन धरान–१३ की अम्विका श्रेष्ठले ३ कट्ठा जग्गा दिने प्रतिबद्धता गरेपनि त्यसतर्फ मालपोत र नापीले संवाद नगर्नुको कारण जग्गाको चलखेल रहेको मञ्चको अध्यक्ष इजमले बताए । उनले तत्कालीन मालपोत प्रमुख भीम गौतम र नापी प्रमुख कृष्ण न्यौपानेले एक एक कटठा जग्गा लिएर कार्यालय सार्ने निर्णयलाई अघि बढाएको इजमको दावी छ । उनले प्रमाणसहित आफूहरु अख्तियारमा जान लागेको समेत दावी गरे ।
उनले बराहक्षेत्रका सेवाग्राहीसमेत आउनु पर्ने भएकाले पायक नपर्ने र दैनिक करोडौं रुपैया लेनदेन हुने भएकाले पानवारी असुरक्षित हुने मञ्चको भनाइ छ । हाल रहेको कृषि विकास बैंकको भवनलाई स्वामित्व हस्तान्तरण गरेर मालपोत, नापीलाई स्थायी रुपमा राख्न सकिने विकल्प खुला रहेकाले पानबारीमा १ सय बेडको आइसियुसहितको अस्पताल र अन्य कार्यालय राख्न सकिने समेत बतँएका छन् ।
कोणसभामा नागरिक समाजका अभियान्ता खड्गबहादुर राई, दलित अभियान्ता रमेश गजमेर, मञ्चका जिल्ला उपाध्यक्ष द्वय सरस्वती सुब्बा, तीर्थराज मादेन समेतले सम्बोधन गरेका थिए । संघीय लिम्बूवान मञ्चका जिल्ला सचिव निर्मल राईले आफूहरुले आन्दोलनलाई थप सशक्त बनाउने समेत बताए । इनरुवास्थित मालपोत र नापी कार्यालयको सेवा विस्तार गर्ने निर्णयअनुसार २०७२ मा धरानमा कार्यालय स्थापना गरिएको थियो । निर्णयपश्चात हाल धरान १६ लेखनाथ चोकस्थित कृषि विकास बैंकको भवनमा भाडा रहँदै आएको छ । भने २०७३ सालमा धरान ६ पानवारीमा स्थानीयले जग्गा उपलब्ध गराएपछि स्थानान्तरणको प्रक्रिया अघि बढेको थियो । अहिले उक्त स्थानमा मालपोत र नापी कार्यालयको भवन निर्माण भइसकेको छ । कोणसभा गर्दै मञ्चका पदाधिकारी । तस्वीरः लक्ष्मण थापा
