धरानः धरान–२० चिन्डेडाँडानजिक गज्जबको पार्क निर्माण भएको छ । पार्कमा साहसिक जीपलाइन, साइक्लिङदेखि रसियन सर्कलसम्मको मजा लिन सकिनेछ ।
धरान–१६ को राई टोलस्थित झोलुङ्गे पुलबाट करिब ३ किलोमिटर माथि चिन्डेडाँडानजिक यस्तो साहसिक खेलको मज्जा लिन सकिने भएको हो । ‘सेछ एडभेन्चर पार्क’ नाम दिइएको सो पार्कमा अहिले थप सुविधा पनि विस्तार भइसकेको सेक्षका सञ्चालक एवं पर्यटनकर्मी बासुदेव बरालले जानकारी दिए । उनका अनुसार यसअघि जीपलाइन, साइक्लिङ, हयाङ्गीङ ब्रीज नियमित चलिरहेको थियो तर अहिले थप सेवा पनि विस्तार गरिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक तान्नका लागि आफूहरुले पहिलादेखि नै लागिपरेको र यसपटकदेखि थप सेवा विस्तार गरेर अघि बढेको उनले जानकारी दिए । पर्यटनकर्मी एलिना मगरले तीन सय मिटर लामो स्काइ साइकल, २ सय मिटर लामो जीप लाइन र तीन खालका ह्याङ्गीङ ब्रीज, चिल्ड्रेन पार्क, लुँडो, रेष्टुरेन्ट र आवासीय कोठाहरू निर्माण पनि गरिएको जानकारी दिइन् ।
तीनजनाको साझेदारीमा सञ्चालनमा आएको सो पार्क करिब साढे ६ करोड खर्चिएको पर्यटनकर्मी बरालले जानकारी दिए । ‘हालसम्म साढे ६ करोड रुपैयाँ खर्च भइसकेको छ’, उनले भने, ‘चार बिगाहा जमीनमा अझै रिसोर्ट सञ्चालनलगायतका अन्य पूर्वाधार थप्दैछौं ।’ रिसोर्टसँगै आर्चरी र गेमिङ जोन पनि निर्माा गरिने उनले जानकारी दिए । स्काइ साइकल प्रदेश १ मै पहिलो भएको उनी दावी गर्छन् । यस्ता खेलहरूले आन्तरिक तथा बाह्य पर्यटक तान्ने उनी बताउँछन् ।
पार्कमै परिसरमा वनभोज स्थलको सुविधा पनि उपलब्ध रहेको उनले जानकारी दिए । रिसोर्टको रेस्टुरेन्टमा कफीका विविधता, खाजा सेट, तौलिएर किलोको हिसाबले सेकुवाका परिकार, चटपटेलगायतका परिकार पनि खान पाइनेछ । यस्तै, सिस्नो, स्याल, कोदोको तीन पाने पेय उपलब्ध गराइने उनको योजना छ । त्यहाँ शुरुमा थारु जातिको पहिरन, राजारानीको पहिरन तत्कालै उपलब्ध छ भने भविष्यमा सर्वजातीय (राई, लिम्बू, गुरुङ, तामाङ, शेर्पा, नेवारलगायत) पहिरन पनि त्यहाँ राखिने उनले जानकारी दिए ।
फेस्टिबल आयोजना
फेस्टिभल आउँदो माघ २४ गते देखि फागुन ९ गतेसम्म पार्कस्थलमै फेस्टिबल आयोजना गर्न लागिएको उनले जानकारी दिए । फेस्टिभल अवधिमा साहसिक खेलहरूको प्याकेजमा लक्की ड्र कुपन पनि वितरण हुनेछ जसअनुसार कुपनमा १० प्रतिशत देखि १०० प्रतिशत छुटको सुविधा रहने जनाइएको छ । पार्कमा प्रवेश शुल्क ५० रुपैयाँ निर्धारण गरिएको छ भने पुरै प्याकेजको १३ सय निर्धारण गरिएको उनले जानकारी दिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज



































