धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको अभियान अहिले पनि चलिरहेको छ ।
अभियानअन्तर्गत नै उनले धरान–२० विष्णुपादुका माछामारास्थित वडा कार्यालय परिसरमा उनले हावाबाट बिजुली बालेर देखाएका हुन् । पहिलोपटक धरानमा हावाबाट बिजुली बलेको हो । विन्ड टर्वाइन चलाएर बालिएको सो वायु उर्जाको मेयर साम्पाङले गरे । करिब ३ लाख ६२ हजार रुपैयाँको लागतमा सो बिजुली बालिएको प्रोजेक्ट म्यानेजर तर्क मगरले जानकारी दिए ।
दुई सय वाटबाट अभियानका रुपमा बिजुली उत्पादन थालिएको उनले जानकारी दिए । सो विद्युत वडा कार्यालयमा बालिएको छ । हाल वडा ५ वटा भल्व बल्छ । स्वास्थ्यचौकी, प्रसुति गृह, काउन्टर, खानेपानी अफिस, वडा कार्यालय अगाडि साथै गेटमा सो भल्व झुन्डाइएको छ ।
स्वास्थ्यचौकीमा प्रसुति गृह पनि हुनाले विद्युत गइहाले पनि सहज हुने भन्दै वडाध्यक्ष पदमबहादुर लिम्बूले खुशी व्यक्त गरे । ‘कुनै बेला विद्युत गइहाले पनि यसले साह्रै सहज हुने भयो’, उनले भने ।
मेयर साम्पाङले अहिले नमूनाकोरुपमा मात्र यो बिजुली बालिएको बताए । मेयर साम्पाङले भने, ‘तर यो सानो हो र नमूना समेत हो, विद्युत बाल्ने सपना बल्ल पूरा भएको छ, यसले धरानमा पनि बिजुली बाल्न सकिन्छ भन्ने उदाहरण पस्किएका छौं ।’
उनले भविष्यमा कन्याटारमा ठूलो योजना बनाएर अझै धेरै बिजुली उत्पादन गरेर बेच्ने समेत बताए । उनले भने, ‘सर्दु खोलाबाट पनि बिजुली निस्किन्छ भन्दा नपत्याउनेहरू थिए, त्यतिबेलै देखाइदिएँ, मैले फेरि पनि हावाबाट बिजुली निकालें, भन्दा पत्याएनन् तर बालेर देखाएँ,’ उनले थपे, ‘फेरि अलि धेरै गफ गरयो भन्छन् होला जेसुकै होस् धरानको प्रमुख त हो नि, त्यसले गर्दा मैले बोलेपछि गर्छु नै कन्याटारमा ठूलो योजना ल्याएर धेरै विद्युत उत्पादन गर्छौं, उभ्रेको बिद्युत बेच्न पनि सकिन्छ, धरानको भविष्य त्यो हो ।’
यसअघि मेयर साम्पाङले नमूनाकै रुपमा सर्दुखोलाबाट बिजुली बालेर देखाएका थिए ।