Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बोक्सीको आरोप लाउने दुईजनालाई पाँच/पाँच वर्ष कैद सजाय

हाम्रो कोशी आवाज
माघ २५ २०७९, बुधबार
बोक्सीको आरोप लाउने दुईजनालाई पाँच/पाँच वर्ष कैद सजाय

ओखलढुङ्गा: जिल्ला अदालतले बोक्सीको आरोप लगाउनेलाई कैद सजायको फैसला गरेको छ। जिल्लाको मोलुङ गाउँपालिका–१ की ६४ वर्षीया एक वृद्धालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा सोही स्थानका दुई जनाविरुद्ध कैद सजायको फैसला भएको हो।
बोक्सीको आरोप लगाई वृद्धालाई आगोले पोल्ने ५० वर्षीय दीपक विश्वकर्मा र २७ वर्षीया मुना विश्वकर्माविरुद्ध अदालतले कैद र जरिवानाको फैसला गरेको हो। जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले दीपकलाई पाँच वर्ष कैदसहित रु ६० हजार जरिवाना र मुनालाई पाँच वर्ष कैदसहित रु ५० हजार जरिवानाको फैसला गरेको छ।
सोही घटनामा संलग्न एक १७ वर्षीया किशोरीको हकमा उनका अभिभावक झिकाई वास्तविक अवस्था बुझी बाँकी कारबाहीको प्रक्रिया अगाडि बढाउने अदालतले जनाएको छ। पीडितलाई नगद रु ६० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसलासमेत भएको छ।
दीपकले रु ३० हजार, मुनाले रु १५ हजार र रु १५ हजार स्थानीय तहले पीडित महिलालाई दिनुपर्ने अदालतबाट फैसला भएको ओखलढुङ्गा जिल्ला अदालतका स्रेस्तेदार नवीन खनालले बताए। बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा (१२) २ मा उल्लेख भएको व्यवस्थाअनुसार सम्बन्धित स्थानीय तहले रु १५ हजार व्यहोर्नुपर्ने फैसला भएको स्रेस्तेदार खनालको भनाइ छ।
विसं २०७५ वैशाख ८ गते दीपक, मुना र एक किशोरीले बोक्सीको आरोप लगाई वृद्धालाई कुटपिट गर्दै आगोले पोलेका थिए। पीडित वृद्धाले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामार्फत न्यायका लागि चार वर्षअघि जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी थिइन्।
जिल्ला न्यायधीश आचार्यको इजलासले बोक्सीको आरोप (कसुर र सजाय) ऐन, २०७२ को दफा (३) १ (छ) बमोजिम कसुर ठहर गर्दै अदालतले सजाय तोकेको हो। जिल्लामा बोक्सी आरोपका थुप्रै घटना मिलापत्रमा टुङ्ग्याउने गरिए पनि अदालतमा पुगेको यो मुद्दा भने पीडितकै मागदाबीअनुसार फैसला भएको छ। रासस

प्रकाशित मिति: माघ २५ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend