धरानः धरानको बाटो हुँदै विस्तार गरिँदै लगिएको विद्युत सेवा (हाइटेन्सन प्रशारण लाइन) ले दुःख दिएको भन्दै धरानबासी अहिले दिनहुँजसो धरान उपमहानगरपालिका धाइरहेका छन् ।
करिब ९ सय ५० घरलाई हाइटेन्सन तारले तनाव दिएको जनाइएको छ । धरानका जीवनदीप सुब्बा हाइटेन्सनपीडित हुन्, उनकै घरमाथि छ, बिजुलीको ‘हाइटेन्सन’ लाइनको तार । उनी एक समय करेन्ट लागेपछि आफू बालबाल बाँच्न सफल भएको समेत बताउँछन् । ‘मलाई करेन्ट लागेको रहेछ, म बेहोस भएपछि उपचारका लागि काठमाडौं लगियो, काठमाडौंमा तत्कालीन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमेत लागेर मेरो उपचार सम्भव भयो’, उनी भन्छन् ।
उनले बिजुलीको तारदेखि जहिल्यै डराउनुपर्ने अवस्था मात्रै आएको नभई आफूले उपभोग गर्दै आएको जग्गा जमीनमा समेत समस्या हुँदै आएको बताए । ‘अहिले त घरैमाथि छ’, उनी भन्छन्, ‘ठूलो हावा आयो भने पनि तार चुँडिएला भन्ने डर हुन्छ । तार चुँडियो भने त हामी बाच्दैनौँ होला । खरानी हुन्छौँ होला ।’
विद्युत् प्रसारण लाइनले जोखिम निम्त्याएको भन्दै धरानबासीहरुले हाइटेन्सन प्रसारण लाइन अन्यत्र स्थानान्तरण गर्न माग गरेका छन् । हाइटेन्सन पीडितहरूले बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङलाई हाइभोल्टेज विद्युत लाइनको वैकल्पिक मार्ग निरीक्षण प्रतिवेदन समेत बुझाएका छन् ।
धरान–४, १३, १४ र १५ मा ३३ केभी र ५, ८, १९ मा ११ केभी लाइन विस्तार गरिएको हाइ भोल्टेज विद्युत लाइन स्थानान्तरण पहल समितिले जनाएको छ । समितिका संयोजक जीवनदीप लिम्बूले हाइभोल्टेज विद्युतकै कारण ६ जनाले ज्यान गुमाइसकेको समेत मेयर साम्पाङलाई जानकारी गराए । प्रशारण लाइनले जोखिम निम्त्याउनुका साथै दुर्घटनासमेत गराएको भन्दै सो प्रसारण लाइन स्थानान्तरण गरी अन्यत्रबाट लैजान माग गरिएको जानकारी दिए ।
हाइभोल्टेज प्रशारण लाइनका कारण धरानका राजनीतिक दल, प्रभावित क्षेत्रको वडा कार्यालय, धरान उपमहानगरपालिकाबाट समेत सिफारिस भई नेपाल विद्युत प्राधिकरण धरान शाखा, धनकुटा शाखा, विराटनगरस्थित प्रादेशिक कार्यालय र केन्द्रीय कार्यालयमा समेत समस्याबारे जानकारी गराउँदा खासै चासो नदिइएको जनाइएको छ ।
गत भदौ महिनामा मेयर साम्पाङसँग भेटेपछि स्थलगत निरीक्षण गरिएको र समस्या समाधानका लागि वैकल्पिक मार्ग निरीक्षण कार्यदल गठन गरिएको र सो कार्यदलले वैकल्पिक मार्ग पनि तय गरिएको संघर्ष समितिका सदस्य सन्तोष पाख्रिनले जानकारी दिए ।
मेयर साम्पाङलाई बुझाइएको निरीक्षण प्रतिवेदनमा ३३ केभी लाइनलाई हरियाली सब स्टेसनबाट तीनकुने, साकेला चोक हुँदै जंगल क्षेत्रबाट सेउती खोलाको किनारै किनार लगी खत्रीधारा, भालुखोलाको किनाराबाट शिखरबाससम्म जोड्न सकिने देखाइएको छ । त्यस्तै , ११ केभीका लागि भने हरियाली सब स्टेसनबाट दक्षिणतर्फ बन्द गरेको मदन भण्डारी राजमार्गको दक्षिणतर्फ सार्न सकिने जनाइएको छ ।
यसैबीच मेयर साम्पाङले सम्बन्धित वडाका वडाध्यक्ष्ँहरुलाई बोलाएर छलफल राखेका छन् । मेयर साम्पाङको कार्यालयमा भएको छलफलमा बिहीबार स्थलगत निरीक्षणमा वडाध्यक्षसहित मेयर साम्पाङ पनि पुग्ने भएका छन् ।
नेपाल विद्युत प्राधिकरणका धरान शाखा प्रमुख साजन महर्जनले माथिबाटै स्वीकृति भएर आउनुपर्ने हुनाले यस विषयमा थप जानकारी गराइसकिएको जानकारी दिए । ‘संघर्ष समिति, स्थानान्तरण पहल समितिले दिएका प्रतिवेदनहरु माथि फरवार्ड भइसकेका छन्’, उनले भने, ‘माथिबाट जे आदेश आउँछ सो अनुसार हामी अघि बढ्छौं ।’

