अब बिरामीले पालो कुर्न नपर्ने, नेपालमै पहिलोपटक छुट्टाछुट्टै क्लिनिक सञ्चालन
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागद्वारा बिरामीहरुको उपचारका लागि दिँदै आएको विशिष्ट सेवाहरुमा थप विस्तार गरेको जनाएको छ ।
विभागले फागुन १ गतेदेखि हप्ताको हरेक बिहीबार बिहान १०ः०० बजे देखि १ः०० बजेसम्म सञ्चालन हुने गरी जेरियाट्रिक क्लिनिकको थप सेवा शुरु गरेको जनाएको छ । यस किसिमको क्लिनिक नेपालमा नै पहिलोपटक प्रतिष्ठानमा शुरुवात भएको समेत प्रतिष्ठानकी प्रवक्ता डा.अन्जु प्रधानले जानकारी दिइन् ।
क्लिनिक ज्येष्ठ नागरिकहरुलाई उमेरका कारणले हुने आन्तरिक कमजोरीका साथै शारिरीक तथा मानसिक समस्याहरु जस्तै निन्द्रा नलाग्ने, खाना नरुच्ने, थकान महसुस हुने आदि तथा दुई वा सो भन्दा बढी रोगहरु भएकाहरुको उपचार गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । त्यस्ता किसिमको स्वास्थ्य समस्या देखा परी ओपीडीमा जँचाउन आउँदा ज्येष्ठ नागरिकहरुले लामो समय पालो कुर्नु नपरोस् र भीडका कारणले सास्ती खेप्नु नपरोस् भन्ने मनसायले छुट्टै क्लिनिक सञ्चालनमा ल्याइएको उनले जानकारी दिइन् ।
सेवाहरुबाट ज्येष्ठ नागरिक मैत्री स्वास्थ्य प्रणालीको विकासलाई सहयोग पुग्ने विश्वास लिइएको उनले जानकारी दिइन् । क्लिनिकमा डा.उर्जा भट्टराईले विशेषज्ञ चिकित्सकको रुपमा सेवा पाउनुहुनेछ । भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ हेल्थ साइन्समा जेरियाट्रिकी विषयमा स्नाकोत्तर गरेकी हुन् । उनी यस विषयको नेपालमै पहिलो महिला चिकित्सक हुन् । एउटै बिरामीलाई लामो समय लगाएर चेक जाँच गर्नुपर्ने भएको हुदा अहिलेको शुरुवाती चरणमा एक पटकमा १५ जना बिरामीहरुलाई मात्र सेवा प्रदान गर्ने योजना रहेको जनाइएको छ ।
विभागले गर्भवती महिलाहरुमा देखापर्ने मधुमेह र थाइराइडको असन्तुलन जस्ता स्वास्थ्य समस्याहरुको उपचारका लागि गर्भवती तथा मधुमेह र थाइराइड क्लिनिक) को पनि शुरुवात गरिएको जनाएको छ । फागुन १ गतेदेखि लागू हुने गरी हप्ताको हरेक बुधबारदेखि सञ्चालनमा आएको क्लिनिकको विशेषज्ञ चिकित्सक डा.रबिन मास्के रहेका छन् ।
त्यसैगरी, विभागले महिनाको पहिलो बिहीबार स्ट्रोक क्लिनिक, दोश्रो बिहीबार हेडयक क्लिनिक, तेश्रो बिहीबार इपीलेस्पी क्लिनिक, चौथो बिहीबार प्रकिसन्स डिजिज गरी चार प्रकारका क्लिनिकहरु सञ्चालनमा ल्याएर बिरामीहरुलाई सेवा प्रदान गर्न शुरु गरेको जनाइएको छ । माघ १ गतेदेखि सञ्चालनमा आएका क्लिनिकहरुमा प्रतिष्ठानको स्ट्रोक टिमका प्रमुख डा.भुपेन्द्र शाहले विशेषज्ञ चिकित्सकका रुपमा सेवा दिँदै आएका छन् ।
मस्तिष्कघात भई शरीरको एकपाटो नचल्ने, अत्याधिक टाउको दुखेर छटपटाउने, छारेरोग लागेर बेला बेला मुर्छित पर्ने, पार्किन्सन्स रोग लागेर हिँडडुल गर्न, बोल्न, एकैठाउँ बसिरहन असहज हुने जस्ता अवस्थाका बिरामीहरु ओपीडीमा जँचाउन आउँदा अन्य बिरामीहरुको भीडका कारण घण्टौ लाइनमा बस्न असहज तथा कठिनाई हुने हुदा यस्ता बिरामीहरुका लागि छुट्टै क्लिनिक सञ्चालनमा ल्याइएको हो । ओपीडीहरु बिहीबार बिहान १०ः०० बजेदेखि १ः०० बजेसम्म सञ्चालन हुने प्रवक्ता प्रधानले जानकारी दिइन् ।