धरानः मोरङको विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया प्रियका सुनारको हत्यामा संलग्न रहेको आरोपमा चारजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–५ का ३५ वर्षीय उमेश सरदार, ६२ वर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका– ७ का ५३ वर्षीय श्रीराम चौधरी र प्रियका सुनारको श्रीमान २९ वर्षीय रमेश साह रहेका छन् ।
यही फागुन ८ गते सोमबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका–२ का नरसिंह चौधरीको ग्वाली घरमा प्लास्टिकको बोरामा शफेला परेको भन्ने खबर प्रहरीलाई जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव उपरीक्षकसहितको प्रहरी अनुसन्धान टोली घटनास्थमा खटी प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आशंकामा चारजनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले बताए ।
हत्यापछि बोरामा पोको पारी पराल र भुसले छोपिएको अवस्थामा शव भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्रियंकाले परपुरुषसँग हिमचिम बढाएको र सम्बन्ध राखेको शंकामा हत्या गरेका हुन् । प्रहरीको अनुसन्धानअनुसार भारतको बिहार माइत भएकी प्रियंकाको रमेशसँग मागी विवाह भएको हो । उनीहरूका ८ वर्षीय छोरा र ६ वर्षीया छोरी छन् । परपुरुषसँग सम्बन्ध राखेको भन्दै रमेशले पटकपटक झगडा गर्दै आएका थिए ।

पक्राउ परेकामध्ये रमानन्द राम आइतबार मध्यराति कोसी अस्पतालमा शववाहन खोज्दै पुगेका थिए । उनी अलि हतास र त्रसित जस्ता देखिन्थे । शव वहनको गाडी खोजेपछि नजिकै रहेका प्रहरीले शंका लागेर सोधपुछ गरे । रमानन्दले भने सुनसरीको बर्जुमा आफ्नी नातिनीको मृत्यु भएको भन्दै प्रहरीलाई ढाँटे ।
‘हस्पिटल वरिपरि गएर गाडी खोज्ने क्रममा त्यहीँ ड्युटी गर्ने प्रहरीले शंका लागेर समातेछ,’ डीएसपी कार्कीले भने, ‘प्रहरीले समातेपछि घटनाबारे विस्तृत जानकारी अनुसन्धानका क्रममा खुलेको हो ।’
डीएसपी कार्कीका अनुसार मार्ने ठाउँ पनि हेरेपछि रमेशले ७ गते धामी हेर्न भनेर लिएर घटनास्थल पुगे । उनका अनुसार हत्यापछि चतरास्थित कोशीमा फाल्ने योजना बनाए पनि उनीहरूलाई प्रहरीले पक्राउ गर्न सफल छ । ‘उपचारका लागि भनेर पत्नीलाई पनि लिएर गएछन् । घरभेटीलाई एक सय रुपैयाँ दिएर रक्सी खान पठाएपछि घटनाले हत्याको रूप लियो,’ कार्कीले भने, ‘घटनापछि बोरामा हालेर त्यही दिन बेलुका सुनसरीको चतरास्थित कोशीमा लगेर फाल्ने योजना रहेछ, तर भ्यान नपाएका कारण त्यस दिन त्यहाँबाट उम्कन पाएनन् ।’ अनैतिक सम्बन्ध राखेको शंकाकै भरमा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।