विराटनगरः मोरङको बेलबारी–३ मा बुधबार १ नं प्रदेश प्रहरी अस्पतालको प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उद्घाटन गरेका छन्। तत्कालको आवश्यकता पूरा गर्ने गरी १५ शय्याको अस्पताल उद्घाटन तथा शुभारम्भ गरिएको हो ।
महानिरीक्षक सिंहले १ नं प्रदेशमा प्रहरी तथा भूतपूर्व प्रहरीको सङ्ख्या ठूलो रहेकाले प्रहरी अस्पताल सञ्चालन गरिएको बताए । उनले नाम प्रहरी अस्पताल भए पनि प्रहरीका अतिरिक्त सर्वसाधारण नागरिकले पनि सेवा पाउने उल्लेख गरे । अस्पतालको शुभारम्भले प्रदेशमा रहेका पूर्वप्रहरी कर्मचारी, अशक्त तथा बहालवाला प्रहरी कर्मचारी र आश्रित परिवारसमेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने उद्देश्यले प्रदेश प्रहरी अस्पताल सञ्चालनमा ल्याइएको हो भने ।
कार्यक्रममा प्रदेश अस्पतालसम्बन्धी प्रतिवेदन डा सरोज सिंहले प्रस्तुत गरेका थिए । उनले अस्पतालमा तत्कालका लागि प्रयोगशाला, एक्सरे तथा आकस्मिक सेवा उपलब्ध गराउनुका साथै अस्पतालमा ११ जना जनशक्ति रहने उल्लेख गरे ।
बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले बेलबारीलाई प्राथमिकतामा राखेर अस्पताल शुभारम्भ गरेकामा प्रहरी अस्पतालको टिमप्रति विशेष आभार प्रकट गरे । नेपाल प्रहरी प्रदेश संरचनामा रुपान्तरण हुँदै गरेको तथा प्रदेशभरिका प्रहरी कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै अस्पतालको स्थापना गरी सेवा सुरु गरिएको नेपाल प्रहरी अस्पताल (महाराजगन्ज, काठमाडौँ) का मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले जानकारी दिइन् ।
कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले नगर क्षेत्रमा प्रहरी अस्पतालको निर्माण र सेवा शुभारम्भले नगरवासीहरु उत्साहित रहेको बताउँदै हरेक नागरिकको स्वास्थ्य सेवामा प्रहरी अस्पतालको अहम् भूमिका रहने र अस्पतालको स्तरोन्नतिलगायत हरेक क्षेत्रमा सहयोग र समन्वयको लागी नगरपालिका सदैव तत्पर रहेको बताए ।
प्रदेश प्रहरी अस्पतालमा तत्काल ३ जना बिशेषज्ञ चिकित्सक सहित १० जनाको प्राविधिक टोलीले ओपिडि तथा ईमरजेन्सी लगायतका सेवा प्रदान गर्ने छ भने सेवा विस्तारको क्रममा अन्य सेवाहरु समेत क्रमश थप हँुदै जाने प्रहरी नायव उपरीक्षक डा. सरोज सिंहले बताए ।