धरान एक्स्पो बाजागाजासहित शुरु
धरानः प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले धरानले जनतालाई पानी खुवाउन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङसँग सहकार्य गर्ने बताएका छन् ।
धरान–१६ स्थित धरान रंगशालामा बिहीबारदेखि शुरु भएको ‘धरान एक्स्पो’ को उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
मेयर साम्पाङले धरानबासीको पानी खाने चाहनालाई निर्वाचन जितेदेखि नै खोलाखाल्सी चहार्दै पानी ल्याउन अहोरात्र प्रयास गरेका कुराहरु आफूले मिडियामार्फत् हेरिरहेको बताउँदै उनले भने, ‘धरानबासीको तिर्खा मेटाउन तमोर वा कोशीबाट पानी ल्याउनुपर्छ, त्यसका लागि धरान उपमहानगरपालिकाले योजना बनाउने र सहकार्य गरेर पानी ल्याएर खुवाएर छाड्छौं ।’
उनले धरान उपमहानगरपालिका, प्रदेश सरकार र संघीय सरकार मिलेर नजिकमा बगिरहेको तमोर वा कोशीको खुवाउन सकिने बताए । उनले नेपाल सरकारसँग यसका लागि केही सार्थक प्रयासहरु पनि थालनी गरेको समेत जानकारी दिए । उनले धरानमा सुकुम्बासी समस्या र अव्यवस्थित बसोबासको व्यवस्थापनमा आफू लागिपर्ने बताए ।
कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले धरानमा उद्योग, व्यवसायलाई अघि बढाउँदै अर्थतन्त्रको पनि विकास गर्नुपर्छ भनेर अवधारणा अघि सारेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र सांघाई, पूर्व अध्यक्ष चण्डीराज ढकाल लगायतले पनि बोलेका थिए ।
धरान रंगशाला मुनि रहेको मिनी रंगशालामा स्टल, मनोरञ्जनसहितको कार्यक्रम गर्दै धरान एक्स्पो शुरु भएको हो । आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठका अनुसार एक्स्पो फागुन २० गतेसम्म चल्नेछ ।
एक्स्पोमा प्रदेश १ का सबै जिल्लाका स्थानीय उत्पादनको प्रदर्शनी हुने आयोजकले जनाएको छ । एक्सपोमा भारत पाकिस्तान र बंगलादेशका १५ वटा स्टल रहने छन् । पर्यटनसँग सम्बन्धित ४ वटा, स्वास्थ्यसँग सम्बन्धित ४ वटा स्टल रहने छन् । एक्स्पोमा साहित्यसँग सम्बन्धी स्टल पनि राखिएको जनाइएको छ । एक्स्पोमा सुनसरीका रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइएको स्टल संयोजक विष्णु बरालले जानकारी दिए ।
एक्स्पोमा दिउँसो २ बजेसम्म प्रवेश निःशुल्क रहनेछ भने २ बजे पछिको प्रवेशमा ५० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । कार्यक्रममा हरेक दिन राष्ट्रिय कालाकारहरूको साङ्गीतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज
