धरानः सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा जारी ‘धरान एक्स्पो २०७९’ को आज (शनिबार) औपचारिक समापन हुने भएको छ ।
सुनसरी क्षेत्रको व्यवसायिक, औद्योगिक, कृषि, साहित्य, शिक्षा, सूचना तथा प्रविधि, पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित एक्स्पो फागुन ११ बाट शुरु भएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमार्फत उद्घाटन गरिएको एक्स्पोलाई नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमखु आतिथ्यमा समापन गरिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन् । रैथाने (सुनसरी र धरान क्षेत्रका), नेपाल, भारत, बंग्लादेश र पाकिस्तानका गरी एक सय २३ स्टल प्रदर्शनी भइरहेको एक्स्पोमा बाल उद्यान, मनोरञ्जनका लागि रेटेपिङ, नाउ लगायत खेल सामग्री सञ्चालन गरिएको छ ।
हरेक साँझ राष्ट्रिय, स्थानीय कलाकार र समूहले प्रस्तुति दिँदै आएको एक्स्पोमा समिर श्रेष्ठ, छेवाङ लामा, राजेशपायल राई, आस्था राउत, डिल्ली फोम्बो, दीपक लिम्बू, सुगम पोखरेल, ‘सबिन राई एन्ड फारोह’ र ‘द इमिमेन्ट्स’ले आ–आफ्नो प्रस्तुति दिइसकेका छन् ।
साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमबाहेक एक्स्पो अवधिभर ‘स्वरोजगार तालिम’ र ‘पर्यटन गोष्ठी’ आयोजना गरिएको थियो । तालिम र गोष्ठी निकै फलदायी रहेको र यसले लक्ष्य प्राप्तिमा सहयोग गर्ने आयोजकले विश्वास लिएको छ । सुनसरी क्षेत्रमा पहिलो पटक डोम प्रविधिको प्रयोग गर्दै सञ्चालन गरिएको एक्स्पोमा धरान उपमहानगरपालिका र कोशी प्रदेशको विशेष सहयोग रहेको छ ।
एक्स्पोमा मितेरी डेभलप्मेन्ट बैंक, सानिमा लाइफ इन्स्युरेन्स, बेबी आइसक्रिम, आईएमई, टुबोर्ग, निक, एसपीएल, ह्युन्डाई, लक्ष्मी, त्रिवेणी ग्रुप, सेन्चुरी मसला, यती कार्पेट, अन्नपूर्ण सिमेन्ट, नेपाल टेलिकम, बागमती प्लास्टिक, राष्ट्रिय वाणिज्य बैंक, पिएलओ ल्युब्रिकेन्ट्स, खुकुरी रम, डिभाइन वाइन, सिटिजन्स बैंक, मारुती सिमेन्ट, आरती स्टिल्स, नबिल बैंक, रमपम, एनएमबी बैंकको प्रायोजन रहेको छ ।
धरान एक्स्पो २०७९ सफल सञ्चालनका लागि नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश), रोट्याक्ट क्लब अफ धरान घोपा, दुहबी नगरपालिका, इनरुवा नगरपालिका, अर्जुनधरा नगरपालिका, साँगुरीगढी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको सहयोग विशेष रहेको छ ।