Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुना

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७९, शनिबार
होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुना

मेची: मेचीनगर नगरपालिका–४ का महिलाहरू घरबास (होमस्टे) मा दैनिक पाहुना आउन थालेपछि दङ्ग छन् । आठ महिनाअघि १४ घरका महिला मिलेर शुरु गरेको मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुनासमेत आउन थालेपछि उनीहरू दङ्ग परेका हुन् ।
“शुरुमा चल्छ कि चल्दैन भन्ने पिर थियो”, होमस्टे सञ्चालक समितिका सचिव पवित्रा श्रेष्ठले भनिन्, “अहिले त काठमाडौँ, बर्दियादेखि भारतका विभिन्न स्थानबाट पाहुना आउनुहुन्छ ।” उनले पूर्वी नाका हुँदै भारतलगायत तेस्रो मुलुक घुम्न जाने र आउने पर्यटक काँकडभिट्टाका सुविधासम्पन्न होटल छाडेर पनि गाउँमै खोलिएको होमस्टेमा आउनेगरेको बताइन् ।
सचिव श्रेष्ठले होमस्टेमा आउने अतिथिको रुचिअनुसारका खाना खुवाउने गरेको बताइन् । खानाको परिकारमा गुन्द्रुकको अचार, आफैँले उत्पादन गरेको तरकारी र स्थानीय कुखुराको मासु अतिथिलाई खुवाउँदै आएको उनको भनाइ छ ।
त्यहाँ एक रात बास बसेको, खाना र खाजासहित रु एक हजार शुल्क लिने गरिन्छ । “महँगो लिदैनौँ पाहुनालाई”, उनले भनिन्, “अलि राम्रो होटलमा एक छाक खाने पैसाले यहाँ एक दिनलाई पुग्छ”, उनले अतिथि सत्कारसँगै आम्दानी हुन थालेपछि महिलाहरूको आत्मविश्वास बढेको बताइन् ।
प्रत्येक घरका एक–एक कोठा अतिथिका लागि छुट्याइएको छ । घरको एक कोठामात्र छुट्याए पनि धेरै पाहुना एकैपटक आउँदा भने चारदेखि पाँच जनासम्मको व्यवस्था एउटै घरमा हुन्छ । वडा नं ४ का अध्यक्ष अर्जुन कार्कीले स्थानीय महिलालाई स्वरोजगार बनाउने र आफ्ना वडामा आउने पाहुनालाई सत्कार सम्मानसहित स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा प्रोत्साहन गरेको बताइन् ।
“यहाँ वर्षौँदेखि मानव–हात्तीको द्वन्द्व छ । यही विषयमा शोधपत्र लेख्नेदेखि अनुसन्धान गर्नेसम्म आउँदा व्यवस्थित बस्ने स्थानको अभाव थियो”, उनले भनिन्, “होमस्टे भएपछि सजिलो भएको छ ।” होमस्टेलाई अझ व्यवस्थित बनाउन वडाबाटै तालिमको व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।
महिलाले होमस्टेसँगै सात कठ्ठा जमिन लिजमा लिएर मौसमअनुसारका कृषिजन्य उत्पादन गर्नेगरेको होमस्टेका सचिव श्रेष्ठले बताइन् । यतिबेला सो जमिनमा आलुको सामूहिक खेती गरिएको उनले बताइन् । -रासस

प्रकाशित मिति: फाल्गुन २० २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend